काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले करिब ६४ हजार कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ।
कम्पनीले भोलि असार २५ गतेबाट लिलामी प्रक्रियामार्फत संस्थापक समूहको ६३ हजार ८४७ कित्ता शेयर बिक्रीमा राख्ने भएको हो। यो शेयरमा कम्पनीका संस्थापकसँगै अन्य जोकोही व्यक्तिले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय काठमाडौं कमलपोखरीका साथै लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत) र धगनढीमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १ गतेसम्म तोकिएको छ।












