काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त सवा ४ लाख अभिकर्ताको इजाजतपत्र सक्रिय अवस्थामा छ। तीमध्ये व्यावसायिक रुपमा सक्रिय अभिकर्ताको संख्या १ लाख हाराहारी मात्र छ। सीमित संख्यामा रहेका अभिकर्ताको पेसागत हकहित संरक्षणका नाममा बजारमा दुईवटा संगठन पेसागत बीमा अभिकर्ता संघ नेपाल र नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ अस्तित्वमा छन्।
दुवै संगठनका अध्यक्षको दाबी छ, ‘हामी अर्को संगठनको तुलनामा बढी क्रान्तिकारी र अभिकर्ताको पेसागत हकहित संरक्षणको मुद्दामा बढी जिम्मेवार संगठन हौँ।’ तर, यथार्थमा दुवै संगठनको नेतृत्वबाट आमअभिकर्ता सन्तुष्ट छैनन्। दुवै संगठनको नेतृत्वले कानुनी रुपमा पेसागत अभिकर्ताको हक–अधिकार सुनिश्चित र सुरक्षित गर्न नसकेको तथा कमजोर बन्दै गएको पेसाकर्मी अभिकर्ताको गुनासो छ।
अभिकर्ता संगठनका नेताहरु बीमकको उच्च नेतृत्वसँग मिलेमतो गरेर व्यक्तिगत लाभमा केन्द्रित हुँदा पेसागत अधिकार कुण्ठित हुँदै गएको गम्भीर आरोप छ। अभिकर्ताले प्राप्त गर्ने सेवासुविधा कटौतीमा बीमा नियमावलीमार्फत लागू भएका प्रावधानहरुलाई उनीहरुले आरोप पुष्टि गर्ने प्रमाणका रुपमा अघि सार्ने गरेका छ्न्।
सरकारले बीमा ऐन, २०७९ र बीमा नियमावली, २०८१ दुवैका माध्यमबाट बीमा अभिकर्ताको सेवा–सुविधामा कसिकसाउ गरेको छ। बीमा पेसामा प्रवेशलाई कसिलो बनाएको छ। अभिकर्ताले पाउँदै आएको कमिसन र प्रोत्साहन (इन्सेन्टिभ)मा पनि नयाँ प्रावधानमार्फत लाभ घटाएको छ।
अर्कोतर्फ स्वयं बीमकले पनि नयाँ बीमा व्यवसाय प्राप्त गर्दा लाग्ने लागत कटौती गर्ने रणनीतिअन्तर्गत अभिकर्ताले प्राप्त गर्ने प्रोत्साहन सुविधाका लागि नयाँ सीमा र सर्त तोक्न थालेका छन्।
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको अध्यक्ष राजेन्द्र अमात्यले पछिल्लोपटक पेसागत बीमा अभिकर्ता संघको नेतृत्वले व्यावसायिक हकहित संरक्षणका लागि संगठित रुपमा आवाज उठाउन नसक्दा अहिलेको अवस्था देखा परेको आरोप लगाए। उनले भने, ‘प्रोत्साहन पनि बीमालेख नवीकरण दरका आधारमा दिने गरी कानुन आएको छ। यो प्रावधान ल्याउनुको पछाडि नियत बेग्लै छ। यहाँ ‘बूढी मरी भन्दा पनि काल पल्क्यो’ भन्ने चिन्ता हो। अब क्रमशः पेल्दै जाने नियतका साथ बीमक र नियामक अघि बढेको देखिन्छ।’
पेसागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी पुरानो कार्यसमितिमा रहँदा हरहिसाब केही नबुझाएर नयाँ संगठन खोल्नु नैतिकवान कार्य नभएको भन्दै आलोचना गरे। उनले भने, ‘उनीहरुले पेसालाई मर्यादित बनाउन, पेसागत हित संरक्षण गर्न कहिँ कतै बोलेको देखिएको छैन।’
बीमा अभिकर्ताको पेसागत सुरक्षाका लागि दुवै संगठनबीच कार्यगत एकता र पछि सांगठनिक एकताको सम्भावना कतिको छ भन्ने जिज्ञासामा दुवै संगठनका अध्यक्षले पेसागत हकहित संरक्षणको साझा मुद्दामा कार्यगत एकताको सम्भावना खुला रहेको प्रतिक्रिया दिए। उनीहरुले पेसागत हित संरक्षणका लागि स्पष्ट खाकासहित प्रस्ताव आए आफूहरु कार्यगत एकता गर्न सकारात्मक रहेको बताए।
अध्यक्ष अमात्यले भने, ‘हामीले एक–अर्कालाई हातेमालो गर्नुपर्छ, निषेध गर्नुहुँदैन। त्यहाँ पनि थुप्रै साथीहरु जान्ने बुझ्ने खालका हुनुहुन्छ। उहाँहरुबाट प्रस्ताव आउँदा छलफल नै गर्नु हुँदैन भन्ने होइन। अभिकर्ता, बीमा बजार र बीमितको हित संरक्षण सम्बन्धमा स्पष्ट धारणा के हो ? उहाँहरु सच्चिएर आएको अवस्थामा हामबीच कार्यगत एकता हुन सक्छ।’












