काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको स्वागत वा बिदाइमा बढीमा ३ जना आफन्त मात्र आउन आग्रह गरिएको छ।
त्रिभुवन विमानस्थल कार्यालय आज एक सूचना आग्रह गर्दै यस्तो आग्रह गरेको हो। विमानस्थलमा हुने भीडभाडालाई ध्यानमा राखेर कार्यालयले बढीमा ३ जना आफन्त मात्रआउन आग्रह गरेको छ।
हाल त्रिभुवन विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरुको संख्या बढ्दो क्रममा रहेकोले हवाई यात्रुको संख्यामा पनि वृद्धि भइरहेको सूचनामा उल्लेख छ। ‘कतिपय अवस्थामा एक यात्रुका लागि दसौँ आफन्तजन स्वागत तथा बिदाइका लागि विमानस्थलमा आउने गरेकाले विमानस्थलको हाताभित्रको सीमित स्थानका कारण अत्यधिक भीडभाड हुने गरेको छ’, सूचनामा भनिएको छ, ‘यस्तो भीडभाडको चापले विमानस्थल सुरक्षामा चुनौती थपिनुका साथै स्वदेशी तथा विदेशी यात्रुको आवगमनमा असुविधा भइरहेको छ। यसले विमानस्थल व्यवस्थापनमा प्रतिकुल असर परिरहेको छ।’
त्यसै अत्यधिक भीडभाड निरुत्साहित गर्न आवश्यक देखिएको हुँदा एक यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जना आफन्त मात्र आइदिन कार्यालयले आग्रह गरेको छ।












