काठमाडौं । योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले सञ्चालन गरेको एचएलआई लार्ज क्याप फन्डबाट शेयर किन्ने उपलब्ध गराएको रकम फिर्ता गर्न भृकुटी ब्रोकिङ कम्पनी (स्टक ब्रोकर नं. ५५)लाई पुनः ताकेता गरेको छ। आज वैशाख २९ गते एउटा सूचना जारी गर्दै यस्तो ताकेता गरिएको हो।
ब्रोकर नं. ५५ लाई हिमालयन इन्भेस्टमेन्ट बैंकरले एचएलआई लार्ज क्याप फन्डबाट पटक–पटक रकम उपलब्ध गराएको थियो। तर, ब्रोकर नं. ५५ ले उक्त रकमको शेयर खरिद गरेको थिएन।
हिमालयन इन्भेस्टमेन्ट बैंकरका अनुसार शेयर खरिदका लागि एचएलआई लार्ज क्याप फन्डको २२ करोड २५ लाख ७३ हजार ५९०.७१ रुपैयाँ ब्रोकर नं. ५५ लाई उपलब्ध गराइएको थियो। तर, शेयर खरिद नगरेपछि पहिलोपटक गत वैशाख ३ गते हिमालयन इन्भेस्टमेन्ट बैंकरले ब्रोकर नं. ५५ लाई उक्त रकम फिर्ता गर्न सूचित गरेको थियो।
यद्यपि, ब्रोकर नं. ५५ ले रकम फिर्ता गर्न कुनै चासो नदेखाएपछि पुनः हिमालयन इन्भेस्टमेन्ट बैंकले ताकेता गरेको हो। कम्पनीले ब्रोकरलाई उक्त रकम ब्याज तथा हर्जनासहित ७ दिनभित्र हिसाब राफसाफ गर्न आग्रह गरेको छ।
तोकिएको अवधिभित्र उक्त रकम फिर्ता नभएको खण्डमा प्रचलित कानुनी व्यवस्थाबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने कम्पनीले चेतावनी दिएको छ।












