काठमाडौं । स्क्यामरले विश्वासिलो कथा (स्क्यामका विभिन्न तरिका) बनाउँदै सोझासाझा मानिसको पैसा वा वित्तीय सूचना चोर्न सक्छन्। नवीनतम प्रविधि, नयाँ प्रकारका सेवा र फरक परिवेशसँगै यसका तरिकाहरु परिवर्तन भइरहेका छन्।
जोकोही पनि स्क्याममा पर्न सक्छन्। तल उल्लेखित संकेत (रेड फ्ल्याग)हरुको समयमै पहिचान गर्नु नै स्क्यामबाट बच्ने पहिलो कदम हो।
- अपरिचित व्यक्ति/संस्थाले लिंक/अट्याचमेन्ट पठाएर खोल्न लगाउनु।
- कुराकानीको टोन सामान्य अवस्थाको भन्दा फरक छ र पैसा पठाउन आग्रह गर्नु वा वित्तीय सूचना माग्नु।
- पठाउनुपर्नेभन्दा अन्य अपरिचित/फरक खातामा रकम पठाउन लगाउनु।
- सञ्चारको माध्यम सामाजिक सञ्जाललाई मात्र प्रयोग गरी वित्तीय कारोबार गराउन खोज्नु वा वित्तीय जानकारी (युजर नेम, पासवर्ड, पिन, ओटीपी) माग्नु।
- तुरुन्तै कारोबार गर्न दबाब दिनु।
- नयाँ खाता वा विवरणको लागि अनुरोध गर्नु।
- धेरै नाफा तर जोखिम छैन भनी आकर्षक प्रस्ताव देखाउनु।
स्क्याममा पर्दा के हुन्छ ?
- पीडितले अन्जानमा आफैं पैसा पठाउँछ।
- पीडितको वित्तीय सूचना चोरी हुन्छ।
- पीडितको वित्तीय साधन र सूचनामा अर्कैले पहुँच स्थापित गर्छ।
त्यसैले शंका लागेमा वित्तीय कारोबार गर्नबाट रोकिन नेपाल राष्ट्र बैंकले सचेत गराएको छ। ‘आधिकारिकता जाचौँ, आवश्यक परेमा साइबर ब्युरो वा प्रहरी, वित्तीय संस्था र नियमनकर्तालाई जानकारी गराऔँ’, केन्द्रीय बैंकले भनेको छ।












