काठमाडौं । बीमा रकम दाबी गर्न बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलेले आफैंले पसलबाट डेढ करोड रूपैयाँको गहना चोरी गरेको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरिक्षक जनक बहादुर शाहीले प्रारम्भिक अनुसन्धानका क्रममा पसल सञ्चालक ४१ वर्षीय दीपक बिक र उनका कामदार नविन विकले रातको समयमा पसलमा चोरी गरेको खुलेको जानकारी दिए।
प्रहरीका अनुसार, पसल सञ्चालक दीपक बिक पोखरा घुमघाम गर्न गएका बेला जेठ १७ गते राती पसलमा चोरी भएको उजुरी प्राप्त भएको थियो। अनुसन्धानका क्रममा दिपकले आफ्नो योजनामा आफ्नै कामदार तिलोत्तमा नगरपालिका वडा नं २ वनवाटिका बस्ने ४७ वर्षीय नवीन विकको सहयोगमा चोरी गरेको खुलेको थियो।
प्रहरीका अनुसार, घटनालाइ वास्तविक घटनाको अावरण दिन दीपक जेठ १६ गते नै पोखरा पुगेका थिए। उनले त्यहाँ पुगेर होटलमा कोठा समेत बुक गरे। तर होटल पुगेकै साँझ बुटवल फर्किए र बुटवलमै रहेका कामदार नवीनको सहयोगमा सटरको ताल्चा फुटाएर चोरी गरे ।
चोरीको घटनापछि उनीहरू दुबैजना तिनाउ नदीको पुल हुँदै बुटवलतर्फ लागेका थिए । उनी पुनः सोही राती सिद्धबाबाको बाटो हुँदै पोखराको होटलमा बास बस्न पुगेका थिए। घटनाबारे जानकारी नभएको जस्तो भान पार्न उनी १७ गते दिनभर दीपक पोखरामै बसे। १८ गते बिहान पसलमा चोरी भएको सूचना पाए झैं गरेर उनी सार्वजनिक बस चढेर पोखराबाट बुटवल फर्किए।
प्रहरीले घटनास्थलको अवस्थाबाट शुरूमा नै चोरी स्वाभाविक नभएर नियोजितरूपमा गरिएको अाशंका गर्न सक्ने आधारहरू फेला पारेको थियो। पसलको सटरको ताल्चा काटेको प्रकृती, पसलभित्रको दराज र सन्दुकभित्रबाट गहना झिकिएपछिको दृश्य अस्वाभाविक देखेपछि प्रहरीले पसलेविरूद्ध नै अनुसन्धान तेर्स्याएको थियो।
अनुसन्धानका क्रममा १६ गते राती पोखराका सडकमा देखिनुपर्ने दीपक बुटवलका सडकमा हिँड्दै गरेको देखिए। उनले चोरीको घटना पछि पुनः गाडी लिएर पोखरातर्फ फर्किएको समेत प्रहरीले सिसिटिभीको दृश्यमा फेला पारेको थियो।
प्रहरी उपरिक्षक शाहीले पत्रकार सम्मेलनमा भने, पसलको बीमा दाबीवापतको रकम कुम्ल्याउने र धितो बन्धक राखेको ऋणीहरूको गहना कुम्ल्याउने दोहोरो दाउँमा पसल सञ्चालक दीपकले यस्तो घटना गरेका हुन् ।
प्रहरीले अनुसन्धानकै क्रममा दीपकको बुटवल पुल्चोकस्थित निवासमा छापामारी गर्दा साढे ५ तोला सुनका गरगहना र १४ किलो काँचो चाँदी फेला पारेको थियो।












