IME Life New

शेयर बजारमा बीमकले ५० प्रतिशत लगानी थप्ने बाटो खुल्यो, बजारमा उछाल ल्याउन कतिको मद्दत गर्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकीकृत निर्देशिका बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२  जारी गरेसँगै बीमा क्षेत्रबाट शेयर बजारमा हुने लगानी बढ्ने भएको छ।

बीमकले सूचीकृत धितोपत्र बजारमा गर्न सक्ने लगानीको सीमा बढाएर १० बाट १५ प्रतिशत पुर्‍याइएको छ। यसबाट शेयर बजारमा सूचीकृत कम्पनीको शेयरमा बीमा कम्पनीको लगानी अहिलेको भन्दा थप ५० प्रतिशत बढाउने बाटो खुलेको छ।

Esewa
Crest

प्राधिकरणले बीमकको लगानी सम्बन्धी निर्देशिका संशोधन गर्दै सबैखाले बीमकका लागि लागू हुने गरी एकीकृत निर्देशन जारी गर्दै शेयर बजारमा लगानीको सीमा बढाएको हो । अब बीमकले आफ्नो कुल लगानीको १५ प्रतिशतसम्म सूचीकृत पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गर्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको ब्याज दर एकदमै न्यून भएकाले बीमकको पहलमा प्राधिकरणले शेयर बजारमा लगानीको सीमा थपेको हो। बैंकले संस्थागत निक्षेपकर्तालाई अहिले प्रदान गरिरहेको ब्याज दर २.७५ प्रतिशत छ। यो रकममा पनि सरकारले ५ प्रतिशत लाभ कर असुली गर्दा बीमकले प्राप्त गर्ने वास्तविक प्रतिफल अझै थोरै छ।

जीवन बीमकले बीमितलाई कम्तीमा ६ प्रतिशत प्रतिफल दिनु उचित मानिन्छ। अत्यन्तै थोरै ब्याज दरमा मुद्दती निक्षेपमा लगानी गरेर बीमितलाई उचित प्रतिफल दिन सक्ने अवस्था छैन।

जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूसहित नेपालमा बीमा कम्पनीहरूसँग करिब ८ खर्ब रूपैयाँ बराबर लगानीयोग्य सम्पत्ति छ। यो रकमको आधारमा गणना गर्दा बीमकले सूचीकृत शेयर कम्पनीमा १ खर्ब रूपैयाँ भन्दा लगानी गर्न सक्ने बाटो खुलेको छ। अझै पनि शेयर बजारमा बीमा कम्पनीको लगानी ५० अर्ब रूपैयाँभन्दा पनि थोरै छ।

शेयर बजारमा जीवन बीमा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०८१/८२ सम्ममा ३० अर्ब ५२ करोड रुपैयाँ लगानी पुर्याएका छन् । निर्जीवन बीमकले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ लगानी गरेका छन् ।

गत आर्थिक वर्षसम्मको तथ्यांकको आधारमा, सूचीकृत कम्पनीको शेयर खरिद गर्नका लागि शेयर बजारमा जीवन र निर्जीवन बीमकको मात्रै पनि कम्तीमा १७ अर्ब रूपैयाँ लगानी थपिने देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको तथ्यांक अनुसार १४ वटा जीवन बीमकले ७ खर्ब ५७ अर्ब ३६ करोड २ लाख रुपैयाँ लगानी गरेका छन्।

यसैगरी निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१।८२ मा करिब सवा ६६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा दुबै पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा कुल ४१ अर्ब २ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन्।

प्राधिकरणले वाणिज्य बैंकभन्दा अधिक ब्याज दर घोषणा गरेका ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न पाउने सीमा पनि करिब ५० प्रतिशतले बढाएको छ।  नयाँ निर्देशिकामा ख वर्गको बैंकमा १५ प्रतिशतसम्म र ग वर्गको वित्तीय संस्थामा ७ प्रतिशतसम्म लगानीको सीमा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS