काठमाडौं ।नेपाल प्रहरीले सेवाग्राहीको सहजताका लागि नयाँ सूचना प्रणालीको सुरुवात गरेको छ। अबदेखि प्रहरीका विभिन्न एकाइहरूमा दर्ता भएका उजुरी, निवेदन वा जाहेरीको कारबाही प्रक्रियाबारे सेवाग्राहीले आफ्नै मोबाइलमा जानकारी पाउने भएका छन्।
नेपाल प्रहरीका अनुसार मुद्दा दर्ता हुने सबै प्रहरी एकाइहरूमा प्राप्त भएका उजुरी, निवेदन, गुनासो तथा जाहेरी दरखास्तहरू दर्ता भइसकेपछि त्यसको प्रगति के भइरहेको छ र कार्यान्वयनको अवस्था कस्तो छ भन्नेबारे सम्बन्धित व्यक्तिलाई नियमित जानकारी दिइनेछ।
सम्बन्धित अनुसन्धान अधिकृत वा प्रहरी कर्मचारीले सेवाग्राहीले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन गरेर प्रगतिको विवरण दिनेछन्।दर्ता भएका निवेदनको अवस्थाबारे मोबाइलमा सन्देश पठाएर पनि सूचित गरिनेछ।
सेवाग्राहीलाई आफ्नो मुद्दा वा निवेदनको अवस्थाबारे बुझ्न पटक-पटक प्रहरी कार्यालय धाउनु नपरोस् र प्रक्रिया पारदर्शी होस् भन्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको नेपाल प्रहरीको भनाई छ।












