काठमाडौं । बीमा कम्पनीहरुको जनशक्ति बढ्दा कार्यालय संख्या भने घटेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना जेठसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा बीमा कम्पनीहरुको कर्मचारी संख्या १.२९ प्रतिशतले बढेको छ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको जेठसम्म १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, ४ वटा लघु निर्जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीमा १२ हजार ३९२ जना कर्मचारी कार्यरत छन्। गत आर्थिक वर्ष २०८१।८२ को जेठसम्म १२ हजार २३४ जना कर्मचारी कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म बीमा कम्पनीहरुमा थप १५८ जनाले रोजगारी पाएका छन्।
जेठसम्म जीवन बीमकहरुमा ६ हजार १२९ जना र निर्जीवन बीमकहरुमा ६ हजार २६३ जना कर्मचारी कार्यरत थिए। अघिल्लो वर्ष जेठसम्म जीवन बीमकहरुमा ६ हजार १११ जना र निर्जीवन बीमकहरुमा ६ हजार २१३ जना कर्मचारी कार्यरत थिए।
यसैगरी चालु आर्थिक वर्षको जेठसम्म बीमकहरुको कार्यालय संख्या भने ०.४७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष जेठसम्म बीमकहरुको ३ हजार ७ वटा कार्यालय संख्या रहेकोमा समीक्षा अवधिमा घटेर २ हजार ९९३ वटा कायम भएका छन्। एक वर्षको अवधिमा कम्पनीहरुको कार्यालय संख्या १४ वटाले घटेको छ।
चालु वर्षको जेठसम्म जीवन बीमकहरुको कार्यालय संख्या १ हजार ८३८ वटा र निर्जीवन बीमकहरुको १ हजार १५५ वटा रहेका छन्।
अघिल्लो वर्ष जेठसम्म जीवन बीमकहरुको कार्यालय संख्या १ हजार ८५० र निर्जीवन बीमकहरुको १ हजार १५७ वटा रहेको थियो। अघिल्लो वर्षको तुलनामा जीवन बीमकहरुको कार्यालय संख्या १२ वटा र निर्जीवन बीमकहरुको २ वटा घटेको छ।












