IME Life New

बीमालेखको दुरुस्तै नक्कल गर्ने गलत अभ्यासले गिज्याइरहेको नेपाली बीमा बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदौ महिनामा परामर्शदाता बीमांकी शुव्रमन्यम कोल्लिमार्लासँग आयोजना गरेको तीनदिने अन्तरक्रिया कार्यक्रमले नेपालको बीमा बजारमा विद्यमान केही गम्भीर संरचनागत चुनौतीहरुलाई उजागर गरिदिएको छ।

कार्यक्रममा बीमांकीय मूल्यांकन, बीमालेख (प्रोडक्ट) डिजाइन र मूल्य निर्धारणलगायतका समसामयिक विषयमा छलफल भए पनि यसले नेपाली बीमा क्षेत्रको परम्परागत उत्पादन निर्माण अभ्यास र बजारको वास्तविक आवश्यकता बीचको ठूलो खाडललाई औँल्याएको छ।

Esewa
Crest

नेपालमा बीमा उत्पादनको डिजाइन गर्दा प्रायःजसो परम्परागत शैली र सीमित विकल्पहरुमा मात्र ध्यान केन्द्रित गरेको पाइन्छ। यसको सोझो असर बीमाको पहुँच र नागरिकहरुको यसप्रतिको आकर्षणमा परेको छ।

अर्कोतर्फ बीमा उत्पादन विकास गर्दा बीमकको जनशक्तिको श्रम, बीमांकीलाई दिनुपर्ने पारिश्रमिक, प्रचारप्रसार सामग्री, बीमालेखसँग सम्बन्धित कागजपत्रको मुद्रणबापत पनि बीमकले एउटा उत्पादनमा थोरैमा पनि १० देखि १५ लाख रुपैयाँ खर्चिनुपर्छ। अझ केही बीमकले तामझामका साथ बीमा योजना प्रचलनमा ल्याउँदा यस्तो खर्च अझै चुलिनु स्वाभाविक हो।

नेपालमा बीमा बजारको आवश्यकता र उपलब्ध उत्पादनबीचको खाडल बढ्नुका पछाडि थुप्रै कारण छन् ।

जनसांख्यिक विविधतालाई बेवास्ता

परामर्शदाता बीमांकी कोल्लिमार्लाले नै कार्यक्रममा नेपालमा बीमाको पहुँच बढाउन विभिन्न उमेर समूहलाई समेट्ने गरी बीमालेखमा विविधता ल्याउनुपर्नेु आवश्यकता औँल्याए। यसले के देखाउँछ भने हाल उपलब्ध अधिकांश उत्पादन निश्चित र सीमित समूहलाई मात्र लक्षित छन्। कृषक, स्वरोजगार, विद्यार्थी वा निम्न आय भएका परिवारका लागि लक्षित लघु बीमा उत्पादनको अझै पनि अभाव छ।

क्रय क्षमतामा आधारित उत्पादनको अभाव

कोल्लिमार्लाले उपभोक्ताको आर्थिक अवस्थाअनुसार बीमालेखको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए। अधिकांश बीमा योजनाहरुको किस्ता अधिक हुने र भुक्तानी अवधि लामो हुने भएकाले मध्यम तथा निम्न आय भएका नागरिकका लागि यो समाधान पहुँच बाहिर छ। उनीहरुको आर्थिक क्षमता अनुरूप लचकदार किस्ता र छोटो अवधिको योजना बजारमा कमै मात्र छन्।

दक्ष जनशक्ति र नवीन प्रणालीको कमी

दक्ष बीमांकी, बीमा उत्पादन तयार पार्ने जिम्मेवारीमा रहेकाहरुमा बजार अध्ययनको अभाव, बजार अनुसन्धानका लागि आवश्यक लगानी र पूर्वाधारको अभावले गर्दा जोखिमको सही मूल्यांकन गरी नवीन र बजारमुखी बीमा उत्पादनहरु ल्याउन कम्पनीहरुलाई चुनौती भइरहेको छ।

बीमा शिक्षा र सचेतनाको अभाव

बीमालेखको जटिल भाषा र सीमित सचेतनाका कारण ग्राहकलाई कुन उत्पादन आफ्ना लागि उपयुक्त छ भन्ने कुरा छुट्याउन गाह्रो छ। यसले गर्दा अभिकर्ताको जोडबलमा परम्परागत र अपरिष्कृत योजनाहरु नै खरिद गर्ने चलन जारी छ।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८२।८३ को वार्षिक नीति तथा कार्यक्रममा प्रत्येक बीमकलाई मौलिक विशेषता सहितको कम्तीमा एउटा बीमालेख तयार पार्न लगाउने योजना समावेश गरेको छ। वार्षिक नीति तथा कार्यक्रममार्फत प्राधिकरणले बीमालेखमा मौलिकता खोज्नुपर्ने अवस्थाले पनि नेपालको बीमा बजारमा बीमा योजनाको दुरुस्तै नक्कल गर्ने बानीले आम उपभोक्तासँग अन्याय गरिरहेको छ।

बीमा ऐन, २०७९ मा नयाँ बीमा योजनाको विकाससम्बन्धी विशिष्ट सेवा प्रदायक प्रोडक्ट डेभलपरको पनि अवधारणा समेटिएको छ। नेपालको बीमा बजार परिपक्वतातिर बढ्दै गर्दा बीमा कम्पनीहरुमा दुई दशकभन्दा लामो समय काम गरेर बाहिरिएका जनशक्तिहरु यस्तो सेवा व्यवसायका साथ बजारमा उपस्थित दर्ज गर्न सक्ने उपयुक्त अवसर पनि ऐन ले दिएको छ।

जागिरबाट अवकाश प्राप्त गरेपनि बाँकी जीवन बीमा क्षेत्रकै लागि समर्पित गर्ने उद्देश्य बोकेकाहरु साझा भावनाका साथ यो सेवा सुरु गर्न सक्छन् । यसले बजार मागमा आधारित उत्पादनको विकासका लागि उपयुक्त वातावरण निर्माण गर्न उपयोगी हुन सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS