काठमाडौं । विदेशी पुनर्बीमा दलालको कार्यालय स्थापना गर्न दोश्रो पटक दिएको म्याद समेत गुज्रिएपछि नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलालविरूद्ध कारवाही गर्नुको साटो बीमकको पुनर्बीमा निर्देशिका नै संशोधन गरिदिएको छ।
प्राधिकरणले २०८० साल जेठ ९ गते जारी गरेको निर्देशिकामा प्राधिकरणमा सूचीकरण भएको ६ महिनाभित्र नेपालमा संयुक्त उपक्रम, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था गरिएको थियो। समय सीमा घर्किनै लाग्दा समेत विदेशी पुनर्बीमा दलालले कार्यालय सञ्चालनमा ल्याउन चासो नदेखाएपछि प्राधिकरणले २०८२ साउन ८ गते निर्देशिकामा पहिलो संशोधन जारी गर्दै २०८२ पाैष मसान्तसम्मको लागि समय सीमा थपेको थियो।
थपिएको समय सीमाभित्र पनि अधिकांश पुनर्बीमा दलाल कम्पनीले कार्यालय सञ्चालनमा ल्याएका छैनन् । कार्यालय स्थापना सम्बन्धि प्राधिकरणको निर्देशनलाई पूर्णतः बेवास्ता गरिदिएका छन्।

प्राधिकरणको वेबसाइटमा प्रकाशित विवरण अनुसार, नेपालमा जम्मा १६ वटा पुनर्बीमा दलाल कम्पनीको कार्यालय सञ्चालनमा छन् । तीमध्ये १० वटा स्वदेशी र बाँकी विदेशी छन् । प्राधिकरणमा कुल ५४ वटा विदेशी पुनर्बीमा दलाल सूचीकृत भएका छन् ।
प्राधिकरणले विदेशी पुनर्बीमा दलाल सूचीकृत गर्नु अघि नै कार्यालय सञ्चालनमा ल्याउनुपर्ने प्रावधान लागू गरेको अवस्थामा कार्यालय स्थापनामा चासो देखाउने अवस्था छ। अर्को उपायका रूपमा, कार्यालय नै नखोलेर नेपालमा सेवा दिन चाहने विदेशी पुनर्बीमा दलालका लागि धराैटीवापत पर्याप्त रकम वा चर्को सूचीकरण शुल्क सम्बन्धि व्यवस्था लागू गर्न सकेको अवस्थामा कार्यालय सञ्चालन गर्न दबाब हुनेछ।












