काठमाडौं । महालेखापरीक्षकको कार्यालयले मृत्यु भएका व्यक्तिका खातामा सामाजिक सुरक्षा भत्ताबापतको रकम जाने जोखिम देखिएको औँल्याएको छ।
कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१।८२ को ६३ औँ वार्षिक प्रतिवेदनमा यस्तो जोखिम औँल्याएको हो। ‘निष्क्रिय लाभग्राहीको खाता ट्रयाक गर्ने प्रणाली विकास नभएको र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भत्ता वितरणको अनुगमन गरेको पाइएन’, प्रतिवेदनमा भनिएको छ, ‘यसले मृत्यु भएका व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता गइरहने जोखिम बढाएको छ।’
विभागले कानुनबमोजिम सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ अभिलेख ट्रयाकिङ पद्धतिको विकास गरी प्रभावकारी ढंगबाट अनुगमन गर्नुपर्ने सुझाव महालेखा दिएको छ।
विभागले उपलब्ध गराएको विवरणअनुसार सामाजिक सुरक्षा भत्तामा २०७९।८० मा १ खर्ब ८ अर्ब ३७ करोड २ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०।८१ मा १.६८ प्रतिशतले बढेर १ खर्ब १० अर्ब १९ करोड ७० लाख ३१ हजार खर्च भएको देखिएको महालेखाले जनाएको छ। यो वर्ष सरकारले ३८ लाख ६ हजार ६३४ जना लाभग्राहीलाई १ खर्ब १४ अर्ब ४१ करोड २ लाख ६८ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको प्रतिवेदनमा उल्लेख छ।












