काठमाडौं । संयुक्त राज्य अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘राज्य प्रायोजक आतंकवाद’ सूचीबाट हटाएको छ।
अमेरिकी प्रशासनले यो निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीलाई सहज बनाउनु र देशलाई विश्वव्यापी अर्थतन्त्रमा पुनः एकीकरण गर्नु रहेको जनाएको छ। सिरियालाई हटाइएसँगै अमेरिकी सूचीमा केवल तीन देश इरान, उत्तर कोरिया र क्युबा बाँकी छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार यो निर्णयले सिरियालाई आर्थिक समृद्धितर्फ अगाडि बढ्ने बाटो खोल्नेछ। यो प्रस्ताव पहिलोपटक गत वर्ष जुलाईमा गरिएको थियो।
अमेरिकी कोषाध्यक्ष स्कट बेसान्टले पनि निर्णयको स्वागत गर्दै भने, ‘यो कदमले सिरियामा थप लगानी ल्याउन मद्दत गर्नेछ। जसले राजनीतिक र आर्थिक स्थिरतालाई सुदृढ पार्नेछ।’
हालै ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शारासँग पनि सम्पर्क बढाएको छ। अल–शारा पहिले एक लडाकु संगठनका नेता थिए र अमेरिकाले एक पटक उनको विरुद्धमा इनाम घोषणा गरेको थियो। उनले पहिले अल–कायदासँग सम्बद्ध संगठनको नेतृत्व गरेका थिए।
उल्लेखनीय छ कि गत वर्ष अमेरिकाले अहमद अल–शाराको नेतृत्वमा रहेको इस्लामिक संगठन तहरीर अल–शामलाई आफ्नो ‘आतंकवादी संगठनको सूची’बाट हटाएको थियो। –एजेन्सी












