काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश खारेज गर्दै जन्मसिद्ध नागरिकतालाई निरन्तरता दिने पक्षमा फैसला गरेको छ।
यसअघि ट्रम्पको कार्यकारी आदेशमा अमेरिकामा अवैध रुपमा वा अस्थायी रुपमा बस्नेहरुका बच्चाहरुले अमेरिकी नागरिकता नपाउने उल्लेख थियो। अदालतको यो फैसला अमेरिकामा बस्ने विदेशी नागरिकका लागि राहात मानिएको छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमा हस्ताक्षर गरेको जन्मसिद्ध नागरिकता आदेश आप्रवासनमाथिको उनको प्रशासनको कडा नीतिको एउटा हिस्सा हो। जन्मसिद्ध नागरिकता मुद्दा अन्तिम निर्णयका लागि अदालतमा पुग्ने ट्रम्पको आप्रवासन नीतिहरुमध्ये पहिलो थियो।
यसअघि न्यायाधीशहरुले आपतकालीन शक्ति ऐनअन्तर्गत ट्रम्पले लगाएको विश्वव्यापी शुल्क (आयात शुल्क) खारेज गरेका थिए। यस्तो कानुन जुन पहिले कहिल्यै यस तरिकाले प्रयोग गरिएको थिएन।
जनवरी २०२५ मा आफ्नो दोस्रो कार्यकालको पहिलो दिन ट्रम्पले अमेरिकामा जन्मेका गैरकानुनी रुपमा वा अस्थायी रुपमा बसोबास गरेका विदेशी नागरिकका बच्चालाई नागरिकता दिन अस्वीकार गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। अब सर्वोच्च अदालतको निर्णयअनुसार अमेरिकामा जन्मेका विदेशी नागरिकका बच्चा नागरिक हुनेछन्।
यो निर्णयले ट्रम्पको निर्णयका कारण तनावमा रहेका अमेरिकामा बसोबास गर्ने विदेशी समुदायलाई उल्लेखनीय राहात प्रदान गर्नेछ। –एजेन्सी












