IME Life New

नेपाली श्रमिकको श्रमसँगै बीमा पनि, वैदेशिक बजारमा शाखा विस्तारको रणनीतिक महत्व

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालबाट वार्षिक लाखौँको संख्यामा युवा बाहिरिने गरेका छन्। यो संख्या झन् झन् बढ्दै गइरहेको छ। यो पृष्ठभूमिमा ती श्रमिकको सुरक्षा र बचतलाई सुनिश्चित गर्न नेपाली बीमा कम्पनीहरुले विदेशमा शाखा विस्तार गर्नु व्यावसायिक आवश्यकतामात्र नभई राष्ट्रिय अर्थतन्त्रका लागि एक रणनीतिक कदम बन्ने देखिएको छ।

हाल ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन्। ती श्रमिकले नेपाल पठाउने रेमिट्यान्स (विप्रेषण)को केही हिस्सा बीमाशुल्कका रुपमा संकलन गर्न सके बीमा कम्पनीहरुका लागि यो एउटा ठूलो बजार हुनेछ।

Esewa
Crest

यदि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब वा मलेसियाजस्ता देशमा नेपाली बीमा कम्पनीको शाखा भएमा श्रमिकले आफ्नै भाषामा आफ्नै देशको कम्पनीसँग बीमालेख खरिद गर्न सक्नेछन्। विदेशी कम्पनीहरुका जटिल सर्तहरु बुझ्न गाह्रो हुने श्रमिकका लागि नेपाली कम्पनीको उपस्थिति हुनुले ठूलो भरोसा दिलाउनेछ।

बीमाशुल्क संकलनमा सहजताः हाल विदेशमा रहेका नेपालीले बीमा गर्न चाहेमा नेपालमै पैसा पठाएर वा आफन्तमार्फत प्रक्रिया पूरा गर्नुपर्छ। यसो गर्दा रकम प्राप्त गर्नेले पैसा दुरुपयोग गरिदिने, ठगिने, किस्ता समयमै भुक्तानी नगरिदिने समस्या बारम्बार भोग्नु परिरहेको हुन्छ। विदेशमै शाखा हुँदा त्यहाँकै स्थानीय मुद्रामा बीमाशुल्क तिर्न सकिन्छ। जसलाई कम्पनीले विदेशी मुद्राकै रुपमा नेपाल भित्र्याउन सक्छन्।

दाबी भुक्तानीको सरलीकरणः वैदेशिक रोजगारीका क्रममा दुर्घटना वा मृत्यु भएमा दाबी भुक्तानी लिन अहिले निकै झन्झटिलो प्रक्रिया छ। विदेशमै शाखा भएमा घटनास्थलमै पुगेर कागजी प्रक्रिया पूरा गरी पीडित परिवारलाई छिटो राहात दिन सकिन्छ।

बचत र लगानीको अवसरः श्रमिकहरुले कमाएको पैसा अनावश्क खर्च हुनुको सट्टा सावधिक प्रकृतिको जीवन बीमा योजनामार्फत सुरक्षित बचत हुनेछ। यसले उनीहरु नेपाल फर्किएपछि पुँजीका रुपमा काम गर्नेछ। कुनै पेसा व्यवसायमा लगानी गर्न मद्दत गर्नेछ।

कानुनी प्रावधान र प्रक्रियागत बाटो

बीमा ऐन, २०७९ ले नेपाली बीमकलाई विदेशमा शाखा खोल्न अनुमति दिए पनि यसका लागि केही महत्वपूर्ण प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ।

द्विपक्षीय सम्झौताको आवश्यकताः नेपाली बीमा कम्पनीले विदेशमा शाखा खोल्न सो देशको नियामक निकाय जस्तै दुबईको एफएसए वा मलेसियाको केन्द्रीय बैंकसँग अनुमति लिनुपर्छ। यसका लागि नेपाल सरकार र सम्बन्धित देशबीच ‘बीमासम्बन्धी द्विपक्षीय समझदारी’ हुनु आवश्यक छ।

पुँजीको मापदण्डः विदेशमा शाखा खोल्न चाहने कम्पनीको वित्तीय अवस्था अत्यन्त सुदृढ हुनुपर्छ । प्राधिकरणले तोकेको न्यूनतम पुँजी र ‘सल्भेन्सी रेसियो’ कायम गरेको हुनुपर्छ।

आर्थिक लाभ विदेशी मुद्राको स्रोत

नेपाली बीमा कम्पनीहरु विदेश जाँदा नेपालको विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष लाभ पुग्नेछ। विदेशमा आर्जन गरेको नाफा र संकलित बीमाशुल्कको निश्चित हिस्सा नेपाल भित्रिँदा शोधनान्तर स्थितिमा सुधार ल्याउन मद्दत गर्नेछ। यसले बीमा क्षेत्रलाई नेपालको निर्यातजन्य सेवाका रुपमा स्थापित गर्ने सम्भावना बोकेको छ।

यसबाहेक अहिले अवैध माध्यम (हुन्डी)मार्फत नेपालमा बीमाको किस्ता भुक्तानीका लागि रकम पठाइरहेका कामदारले विदेशी मुद्रामै बीमाशुल्क भुक्तानी गर्दा हुन्डीमा पनि केही हदसम्म अंकुश लाग्नेछ।

नेपाली आप्रवासीहरु रहेका मुलुकमा बीमा कम्पनीहरुको उपस्थिति हुनु भनेको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा मोड्नु पनि हो। यसका लागि सबैभन्दा पहिले सरकारले विदेशमा शाखा कार्यालय खोल्ने प्रयोजनका लागिमात्रै भए पनि बीमा कम्पनीलाई कानूनी बाटो खोलिदिनुपर्छ।

दोस्रो चरणमा बीमा ऐन, २०७९ ले दिएको अधिकारलाई प्रयोग गर्दै सरकार र प्राधिकरणले कूटनीतिक पहलमार्फत अन्य देशका नियामकसँग समन्वय गरिदिएर नेपाली बीमा कम्पनीहरुलाई वैदेशिक बजारमा शाखा खोल्न सहजीकरण गर्नुपर्छ।

विदेशमा शाखा खोल्नका लागि विदेशी सरकारको कडा सर्त, इजाजतपत्रका लागि तिर्नुपर्ने चर्को शुल्क र प्रत्याभूतिका लागि जम्मा गर्नुपर्ने राशिबापतको रकम ठूलो हुने भएकाले भने जसो सहज छैन। त्यसैले यसका लागि कूटनीतिक पहलमार्फत नेपालले सम्बन्धित देशको सरकारसँग बीमकको पक्षमा खुकुलो प्रावधान लागू गराउन सक्ने क्षमतामा भर पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS