काठमाडौं । शेयर बजारमा कम्पनीको शेयरभाउ घटबढको अधिकतम सीमा बढाइएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार विनियमावलीमा संशोधन गर्दै शेयरभाउ घटबढको अधिकतम सीमा बढाइएको हो। संशोधन विनियमावली नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेर नेप्सेमा पठाइसकेको छ। यद्यपि, लागू हुन बाँकी छ।
संशोधित विनियमावलीअनुसार अब स्पेसल प्रिसेसन (बिहान १०ः३०–१०ः४५)सम्म कम्पनीको शेयरभाउ अधिकतम ५ प्रतिशतसम्म घटबढ गर्न पाइनेछ। हाल अधिकतम २ प्रतिशतसम्म घटबढ गर्न पाइने व्यवस्था रहेको छ।
यसैगरी नियमित्रसत्र (बिहान ११ः०० देखि दिउँसो ३ः०० बजे)सम्म कम्पनीको शेयरभाउ अधिकतम १५ प्रतिशतले घटबढ गर्न पाइने व्यवस्था आउने भएको छ। हाल अधिकतम १० प्रतिशतसम्मको सीमा रहेको छ।
संशोधित विनियमावलीमा शेयर बजारको उच्च उतारचढावलाई नियन्त्रण गर्न नेप्सेमा सर्किट ब्रेकरको व्यवस्था परिवर्तन गरिएको छ। हाल नेप्सेमा बजार उच्च उतारचढाव हुँदा तीनवटा सर्किट ब्रेकरको व्यवस्था रहेको छ। अब त्यसलाई घटाएर दुईवटा सर्किट ब्रेकरको व्यवस्था गरिएको छ।
उच्च उतारचढाव नियन्त्रण गर्न कारोबारको पहिलो घन्टामा बजार ५ प्रतिशत घट्दा वा बढ्दा पहिलो सर्किट ब्रेक र फेरि ८ प्रतिशतले बजार घट्दा वा बढ्दा दोस्रो सर्किट ब्रेक लगाइनेछ। पहिलो सर्किट ५ प्रतिशतमा लागेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ र त्यसपछि फेरि बजार ८ प्रतिशतको सर्किट ब्रेकर लागेमा बाँकी समयको कारोबार स्थगित गरिनेछ।
हाल बजारको उच्च उतारचढाव नियन्त्रण गर्न कारोबारको पहिलो घन्टामा ४ प्रतिशतले बढ्दा वा घट्दा, त्यसपछि ५ प्रतिशतले बढ्दा वा घट्दा र ६ प्रतिशतले घट्दा वा बढ्दा सर्किट ब्रेक लगाउने व्यवस्था छ। जसअनुसार ४ प्रतिशतमा सर्किट ब्रेकर लगाएर २० मिनेट कारोबार स्थगित गर्ने, त्यसपछि ५ प्रतिशतमा सर्किट ब्रेकर लगाएर ४० मिनेट कारोबार स्थगित गर्ने र अनि फेरि ६ प्रतिशतमा सर्किट ब्रेकर लगाएर बाँकी समयको कारोबार स्थगित गर्ने प्रावधान रहेको छ।
अर्को तेस्रो संशोधनको प्रस्ताव भनेको आफ्टर मार्केट अर्डर प्लेसमेन्ट रहेको छ। कारोबार समयपछि पनि शेयर खरिद–बिक्रीका लागि अर्डर राख्न मिल्ने व्यवस्था विनियमावलीमा संशोधन गर्दै ल्याउन लागिएको छ। विदेशमा रहेका नेपालीले आफू रहेको देशबाट शेयर कारोबार गर्न असहज भएको गुनासो प्राप्त भएपछि यो व्यवस्था गर्न लागिएको नेप्सेका ती अधिकारीले जानकारी दिए। यो व्यवस्था कायम भएमा पुँजीबजार विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास गरिउको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले धितोपत्र बोर्डबाट संशोधित विनियमावली स्वीकृत भएर आएको बताए। ‘संशोधित विनियमावलीमार्फत गरिएका नयाँ प्रावधान कार्यान्वयन गर्न नेप्सेको सञ्चालक समितिले मिति तय गर्नुपर्छ’, उनले भने, ‘नेप्सेको सञ्चालक समितिको बैठकले तय गरेको मितिबाट नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ। सम्भवतः छिट्टै लागू होला।’












