काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार निर्माण भएपछि शेयर बजारले गति लिने आशा लगानीकर्ताको थियो। तर, लगानीकर्ता सोचेजस्तो हुन सकेन।
बालेन शाह नेतृत्वको सरकार बनेपछि बजार साइडवेजमा चलिरहेको देखिन्छ। शेयर बजारप्रति सरकारको स्पष्ट धारणा नआउँदा लगानीकर्ता आश्वस्त हुन सकेका छैनन्। सोही कारण ठूला लगानीकर्ता बजार प्रवेश गर्न हिच्किचाइरहेका छन्।
अर्कोतर्फ बजार नियामकहरु नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त छन्। जसका कारण यी निकायले गर्नुपर्ने महत्वपूर्ण कामहरु अलपत्र परेका छन्। निर्णय गर्ने व्यक्ति नै नहुँदा अहिले ३ वटै निकायमा नीतिगत विषयहरु अड्किएका छन् भने दैनिक प्रशासनिक कार्य पनि जसोतसो चलिरहेको छ।
पछिल्लो समय सेबोनमा सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त छ। सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाए पनि टुंगो लागिसकेको छैन। गत सोमबारको मन्त्रिपरिषदको बैठकले सेबोनमा अध्यक्ष नियुक्ति गर्न सक्ने चर्चा चलेको थियो। अर्थ मन्त्रालयले सिफारिस समितिले सिफारिस गरेका तीनजनाको नाम मन्त्रिपरिषदमा पेस पनि गरेको थियो। तर, बजारमा सिफारिस गरिएका व्यक्तिहरुको विगतको विवादास्पद गतिविधिका विषयमा चर्चा हुन थालेपछि प्रधानमन्त्री शाहले कसैलाई पनि नियुक्त गर्न मानेनन् र पुनः व्यक्तिगत विवरण बुझाएका ४७ जनाका विषयमा पुनः अध्ययन गरेर सिफारिस गर्न निर्देशन दिए।
समितिले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय गोपाल भट्ट र मुकुन्दबहादुर क्षत्री तथा सेबोनका पूर्वकार्यकारी निर्देशक नवराज अधिकारी र बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्यको नाम सिफारिस गरेको थियो। अर्थमन्त्री स्वर्णिम वाग्लेले भने सेबोन अध्यक्षमा भट्ट वा क्षत्रीलाई अध्यक्ष बनाउन मन्त्रिपरिषदमा सिफारिस गरेको स्रोत बताउँछन्। तर, विगतका विवादास्द गतिविधि र शेयर बजारमा स्वार्थ बाझिने भएकोले सरकार विवादमा फस्ने देखेपछि प्रधानमन्त्री शाह ब्याक भएको स्रोतको भनाइ छ।
अध्यक्ष नहुँदा अहिले सेबोनमा दैनिक प्रशासनिक कार्य पनि सुस्त गतिमा भइरहेको सेबोनका एक अधिकारीले बताए। ‘निर्णय गर्नुपर्ने विषयहरु अलपत्र छन्। साधारण शेयर (आइपीओ, हकप्रद, एफपीओ आदि) पनि रोकिएका छन्’, ती अधिकारीले भने, ‘सरकारले फस्ट ट्रयाकमा अध्यक्ष नियुक्ति गर्ने कुरा थियो। तर, अहिले फेरि पुनः सबै उम्मेदवारको आवेदन अध्ययन गरेर सिफारिस गर्न निर्देशन प्रधानमन्त्रीबाट भएको सुनिएकोले अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिने देखियो।’
उता नेप्सेमा पनि अवस्था उस्तै छ। सरकारले अध्यक्ष नियुक्त गरेर नपाउँदा नीतिगत विषयहरु अगाडि बढ्न सकेका छैनन्। गत वैशाख १४ गते हेमन्त बस्यालले राजीनामा दिएपछि नेप्सेमा अध्यक्ष पद रिक्त रहेको छ। ‘बजारसँग सम्बन्धित थुप्रै विषयहरु अगाडि बढेका छन्’, नेप्से स्रोतले भन्यो, ‘तर, अध्यक्ष नहुँदा सञ्चालक समितिको बैठक नै बस्न सकेको छैन। सञ्चालक समितिको बैठक नै नबसेपछि ती विषयहरु निर्णयार्थ प्रस्तुत गर्ने कुरै भएन।’
बस्यालले राजीनामा दिनुअघि सीडीएससीको कार्यकारी प्रमुखबाट प्रवीण पन्दकलाई हटाएर नेप्सेमा फिर्ता बोलाएका थिए। योसँगै सीडीएससीमा कार्यकारी प्रमुख पद रिक्त रहेको छ। यसअघि गत वर्ष भदौ ७ गते पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि सीडीएससीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद खाली थियो। नयाँ सीईओ नियुक्त नहुन्जेलसम्मका लागि पन्दकलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएर सीडीएससी पठाइएको थियो।
सीडीएससीमा पनि सीईओ नियुक्ति प्रक्रिया अगाडि बढेको छैन। जसका कारण त्यहाँ पनि दैनिक प्रशासनिक कार्यबाहेक अन्य गतिविधि हुन सकेको छैन।












