काठमाडौं । पछिल्लो समय पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्न पाउने बाटो खुलेपछि निकै राहात भएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएरमात्रै अग्राधिकार शेयर जारी गर्न बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र बोर्डमा आवेदन दिन सक्ने प्रावधान तोकिएको छ। बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य १०० रुपैयाँमा अग्राधिकार शेयर जारी गर्न पाउँछन्।
बैंक तथा वित्तीय संस्थाले ५० जनाभन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र अग्राधिकार शेयर जारी गर्न पाउनेछन्। यसमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउँदैनन्।
धितोपत्र बोर्डले हालसम्म ६ वटा बैंकलाई अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको छ। जसमा ५ वटा वाणिज्य बैंक र एउटा विकास बैंक छन्।
धितोपत्र बोर्डले सुरुमा नबिल बैंकलाई ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउन अनुमति दियोे। नबिल बैंकको १०० रुपैयाँ अंकित दरका कुल ५ करोड कित्ता अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। नबिलको यो अग्राधिकार शेयरको लाभांश दर ८ प्रतिशत रहेको छ।
यसैगरी एनएमबि बैंकले ३ अर्ब रुपैयाँबराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति पायो। अब एनएमबि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्न स्वीकृति पाएको हो। बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। एनएमबि बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
त्यसपछि धितोपत्र बोर्डबाट सिद्धार्थ बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ र कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने पाएका छन्। सिद्धार्थ, सानिमा र माछापुच्छ्रे बैंकको अग्राधिकार शेयरमा ८.५ प्रतिशत रहेको छ भने कामना सेवा विकास बैंकको ९ प्रतिशत रहेको छ। अग्राधिकार शेयरको लाभांश मुनाफा भएको वर्षमा मात्र वितरण गरिन्छ।
सिद्धार्थ बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल, सानिमा बैंकको मुक्तिनाथ क्यापिटल, माछापुच्छ्रे बैंकको लक्ष्मी सनराइज क्यापिटल र कामना सेवा विकास बैंकको एनआईएमबी एस क्यापिटल रहेका छन्।
अनुमति पाएका केही बैंकहरुले अग्राधिकार शेयर बिक्री गरिसकेका छन् भने केहीले बिक्री गर्न बाँकी छ। अझै केही बैंकहरु अग्राधिकार शेयर ल्याउने तयारीमा पनि रहेका छन्।












