काठमाडौं । स्नो रिभर्सको शेयर कारोबार आज शुक्रबारबाट दोस्रो बजारमा खुलेको छ।
स्नो रिभर्सको आइपीओ हिजो बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यो कम्पनीको शेयर पनि आजबाट कारोबारमा आएको हो।
पहिलो कारोबारका लागि नेप्सेले स्नो रिभर्सलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘एसएनओआरएल’ पाएको छ।
आज स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता २९८.७० रुपैयाँमा किनबेच भएपछि नियमित सत्रका लागि कारोबारमा आएको हो।
नेप्सेमा स्नो रिभर्सको १०० रुपैयाँ अंकित दरका कुल ९३ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १८ लाख ७५ हजार कित्ता (२० प्रतिशत) र संस्थापकको ७५ लाख कित्ता (८० प्रतिशत) रहेको छ।
स्नो रिभर्सले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने जेठ १२ गते गरिएको थियो।












