काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट प्रालिको ब्रान्ड एम्बेसेडरमा गायक बद्री पंगेनी नियुक्त भएका छन् । एक कार्यक्रमकाबीच सजिलो नेट र गायक पंगेनीबीच सम्झौता भएको हो ।
ताहाचलस्थित सजिलो नेटको कार्यालयमा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सतिश कार्की र बद्री पंगेनीले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहमा बोल्दै गायक पंगेनीले आफूले अन्य कम्पनीहरुको नेट प्रयोग गरेको तर त्यसभन्दा सजिलो नेटको सेवाबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।
आफूलाई सजिलो नेटले सहकार्यका लागि प्रस्तावमा चार महिना परीक्षणको परीक्षण र त्यसबाट सन्तुष्टी पाएपछि मात्रै हात अघि बढाएको भन्दै खुसी व्यक्त गरे ।
कम्पनीको सेवाबाट सन्तुष्ट भएको बताउँदै उनले भने, ‘सजिलो नेटबाट मलाई सहकार्यको प्रस्ताव आयो, तर मैले सुरुमा सहजै स्वीकार गरिन् । मैले उहाँहरुलाई ४ महिना नेट चलाउने र मन परेमा मात्रै सहकार्य गर्छु भनेँ, उहाँहरुले पनि त्यसलाई स्वीकार गरिदिनुभयो, मैले ४ महिनामा उहाँहरुको सेवाबाट सन्तुष्ट भएर आज सहकार्य गरेँ’, उनले भने ।
कम्पनीका तर्फबाट बोल्दै सीईओ कार्कीले आफूहरुको सेवामा विश्वास गरेर ब्राण्ड प्रमोसनको लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
‘हाम्रो सेवाबाट सन्तुष्ट भएर आज चर्चित गायक बद्री पंगेनीजीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ । भोलिका दिनहरुमा हाम्रो सेवालाई थप राम्रो बनाउनेछौँ र उहाँहरुजस्तै अझै पनि लाखौँ ग्राहकहरुमा जाने लक्ष्यलाई यो सहकार्यले थप प्रेरणा मिलेको छ,’ सीईओ कार्कीले भने ।