काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ इक्विटी फन्ड २’का इकाइहरु वैशाख २१ गतेबाट बिक्री खुला गरिने भएको छ।
कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका रहेका यस योजनाका १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाइ जारी गर्न लागिएको हो। कुल इकाइमध्ये १ करोड ५० लाख सिद्धार्थ बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्यूनतममा १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
यस योजनाको निष्कासन बन्द छिटोमा वैशाख २४ गते र ढिलोमा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ। यो १२ वर्षे बन्दमुखी योजना हो।












