काठमाडौं । भारतको मध्य प्रदेश अन्तर्गत इन्दौर शहरमा बुधबार बिहान तीन तले घर बाहिर विद्युतीय कार चार्जिङ पोइन्टमा विस्फोट भएपछि आगलागी हुँदा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
कार चार्जमा राखिएका बेला विद्युतीय गडबडी पैदा भएर अागलागी हुँदा आवासीय भवन भित्र राखिएका केही खाना पकाउने ग्याँस सिलिन्डरहरू पनि विस्फोट भएका थिए। जसले आगोलाई अझ तीब्र बनाएको थियो।
ब्रजेश्वरी एनेक्स कोलोनीमा रहेको घरमा बिहान ३.३० देखि ४.३० बजेको बीचमा आगलागी भएको सहायक प्रहरी आयुक्त (एसीपी) कुन्दन मन्डलोईले पीटीआईलाई बताएका छन् । आगोमा परी सात जनाको मृत्यु भएको उनले बताए। घटनापछि एक बच्चा हराएको र खोजी भइरहेको एसीपीले बताए।
तीन तले घर बाहिर कार चार्ज भइरहेको अवस्थामा आगलागी भएको जानकारी मध्य प्रदेश प्रहरीले गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।












