काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ब्रोकरमाथि कारबाही गरेको छ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था उल्लंघन गरेकोमा धितोपत्र बोर्डले सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजमाथि कारबाही गरेको हो। यी तीनवटै ब्रोकरलाई धितोपत्र बोर्डले आर्थिक जरिवाना गरेको छ।
धितोपत्र बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ.को उपदफा (१)को खण्ड (ख)बमोजिम ती ब्रोकरलाई कारबाही गरिएको छ। जसअनुसार सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ तथा श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ आर्थिक जरिवाना गरिएको छ।












