काठमाडौं । साउदी अरेबिया सरकारले अवैध आप्रवासीहरुविरुद्ध व्यापक कारबाही अभियान सुरु गरेको छ। अगस्ट २० देखि २६ सम्म साउदीभरि गरिएको संयुक्त सुरक्षा अभियानका क्रममा आवास, श्रम र सीमा सुरक्षा कानून उल्लंघन गरेको आरोपमा १४ हजार ४३४ व्यक्तिहरुलाई पक्राउ परेका छन् भने १४ हजार ९०५ विदेशीलाई देश निकाला गरिएको छ।
साउदी मिडियाका अनुसार यी राष्ट्रव्यापी कारबाही सम्बन्धित सुरक्षा अधिकारीहरुले साउदीको आवास, श्रम र सीमा सुरक्षा कानुन उल्लंघन गर्नेहरुलाई पहिचान गर्न र कारबाही गर्न सञ्चालन गरेका थिए। विभिन्न घटनामा पक्राउ र देश निकाला गरिएको थियो।
कुल १४ हजार ४३४ उल्लंघनकर्तालाई पक्राउ गरिएको छ। त्यसमध्ये ६ हजार ९७६ जनाले आवास प्रणाली उल्लंघन गरेका थिए। त्यस्तै ४ हजार ११० ले सीमा सुरक्षा प्रणाली उल्लंघन र ३ हजार ३४८ जना श्रम नियम उल्लंघन गरेका थिए।
साउदीका सुरक्षा अधिकारीहरुले सीमामा अवैध रुपमा देशमा प्रवेश गर्न खोजिरहेका १ हजार ४५० जनालाई पक्राउ गरेका थिए। यीमध्ये ४१ प्रतिशत यमनी र ५८ प्रतिशत इथियोपियाली नागरिक थिए। अधिकारीहरुले अवैध रुपमा सीमा पार गरेर साउदीबाट अवैध रुपमा बाहिर निस्कन खोजिरहेका ४४ जनालाई पक्राउ गरे।
अधिकारीहरुले १८ हजार ९१४ उल्लंघनकर्तालाई यात्रा कागजातहरु प्राप्त गर्न आफ्नो कूटनीतिक नियोगहरुमा पठाए। २ हजार ८६७ उल्लंघनकर्तालाई आफ्नो यात्रा आरक्षण पूरा गर्न भनियो। १४ हजार ९०५ उल्लंघनकर्तालाई साउदीबाट देश निकाला गरियो।
साउदी गृह मन्त्रालयले चेतावनी दिएको छ कि देशको सीमा सुरक्षा नियमहरु उल्लंघन गर्न मद्दत गर्नेहरुले कडा सजाय भोग्नेछन्। यसमा अवैध रुपमा साउदीमा प्रवेश गर्ने, उल्लंघनकर्ताहरुलाई आश्रय प्रदान गर्ने वा सीमा सुरक्षा नियमहरु उल्लंघन गर्नेहरुलाई सहयोग गर्ने समावेश छ।
साउदी अधिकारीहरुले बासिन्दा र नागरिकहरुलाई सीमा सुरक्षा उल्लंघनकर्ताहरुलाई सहयोग गर्ने वा आश्रय दिने जोकोहीलाई रिपोर्ट गर्न आग्रह गरेका छन्। मक्का, मदिना, रियाद, पूर्वी प्रान्त र बाँकी साउदीका लागि छुट्टै संख्या जारी गरिएको छ।
साउदीले हालैका महिनाहरुमा आफ्नो बसोबास, श्रम र सीमा सुरक्षा नियमहरु कडाइका साथ लागू गर्दै आएको छ। साउदी सरकारले देशमा बसोबास गर्ने विदेशी, रोजगारदाता र अन्य व्यक्तिहरुले देशको कानूनको पालना गरेको र सीमा सुरक्षा नियमहरु उल्लंघन नगरेको सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिन्छ। –एजेन्सी












