काठमाडौं । सानिमा बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा भारत–नेपाल रियल टाइम पर्सन टु पर्सन (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, छिटो तथा कम लागतमा रकम पठाउन र प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार यस सेवाले दुवै देशका प्रयोगकर्तालाई बैंक खाताको विवरण साझा नगरी नै डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्ने सुविधा उपलब्ध गराउनेछ।
सेवाअन्तर्गत नेपाली प्रयोगकर्ताले भर्चुअल पेमेन्ट एड्रेस (VPA) मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडी प्रयोग गरेर नेपाल–भारतबीच रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्। यसले सीमापार भुक्तानी प्रक्रियालाई थप सरल, सुरक्षित र सहज बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
सानिमा बैंकका अनुसार यो सेवा विशेषगरी विद्यार्थी, पेशागत व्यक्तिहरू, पर्यटक तथा नेपाल–भारतबीच नियमित आवतजावत गर्ने परिवारका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। डिजिटल माध्यमबाट तत्काल रकम आदानप्रदान गर्न सकिने भएकाले पारम्परिक रेमिट्यान्स वा अन्य भुक्तानी प्रक्रियाभन्दा यो सेवा प्रभावकारी विकल्प बन्ने बैंकको भनाइ छ।
नेपाल र भारतबीच बढ्दो आर्थिक, शैक्षिक तथा व्यक्तिगत सम्बन्धलाई सहज बनाउन र डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न यो सेवा महत्वपूर्ण हुने बैंकले जनाएको छ।












