काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष ढकालले वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
आफ्नो उम्मेदवारी घोषणा गर्दै ढकालले महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा पैरवी गर्नका लागि आफूले वस्तुगततर्फको सदस्य पदमा उम्मेदवारी दिएको बताए। ‘अहिले विभिन्न वस्तुगत सदस्यहरुको थुप्रै कानुनी तथा व्यवहारिक समस्या छन्’, उनले भने, ‘महासंघभित्र रहेर वस्तुगत संघका समस्या समाधानका लागि सरकारसँग बहस पैरवी तथा नीतिगत लबिङ गर्न मैले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ।’
नेपालको पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डका रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउन आफूले पहलकदमी लिनेसमेत ढकालले जानकारी दिए। ‘नेपालको पँुजी बजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ, अब यसलाई नेपालको पुँजी बजारमात्र सीमित नराखी समग्र अर्थतन्त्रको ऐनाका रुपमा अघि बढाउनुपर्छ’, उनले भने, ‘समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रुपमा अघि बढाउनकै लागि मैले महासंघको आसन निर्वाचनमा संस्थाका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।’
करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजी बजारका साथै जलविद्युत, होटल पर्यटन, कृषिलगायतका क्षेत्रमा आबद्ध छन्। यसैगरी धितोपत्र ऐन २०६३ र यसअन्तर्गतका नियमावलीहरुलाई बदलिँदो बजारको आवश्यकता अनुसार आफूले समयसापेक्ष परिमार्जन गर्न प्रभावकारी पहल गर्ने उनको भनाइ छ।
यस्तै नयाँ वित्तीय उपकरणहरुको विस्तार गर्दै मार्जिन ट्रेडिङ, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्सजस्ता आधुनिक वित्तीय उपकरणहरु सञ्चालनमा ल्याउन धितोपत्र बोर्डसँग विशेष समन्वय गरिएको समेत ढकालको भनाइ छ। साथै कमोडिटिज, फरेन करेन्सी र बुलियन एक्सचेन्ज स्थापनाका लागि नियामक निकाय र लगानीकर्ताबीच पुलका रुपमा आफूले नेतृत्वकारी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए।
साना तथा मझौला व्यवसायलाई पुँजी जुटाउन सहज मार्गप्रशस्त गर्न एसएमई प्लेटफर्म र ओटी मार्केटलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्नेसमेत ढकालको भनाइ छ। यसका साथै अन्तर्राष्ट्रिय लगानीको ढोका खुला गर्न गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई नेपाली पुँजी बजारमा भित्र्याउन स्पष्ट र सहज नीति निर्माणमा सरकारलाई दबाब दिइनेसमेत उनको उद्घोष छ।












