काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी जनताको सेवा गर्न अपिल गरेको छ।
रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। रास्वपाले पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनताको सेवामा समर्पित हुन पनि कर्मचारीहरुलाई आग्रह गरेको छ।
रास्वपाले स्थापनाकालदेखि नै मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्छ भन्ने स्पष्ट मान्यता राख्दै आएको स्पष्ट पारेको छ। ‘हालै सम्पन्न भएको आमनिर्वाचनमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र व्यवसायिक बनाएर सार्वजनिक सेवा प्रवाह एवं विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने गरी यस क्षेत्रको सुदृढीकरणका लागि केही वाचाहरु प्रस्तुत गरिएको विषय विदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय निजामती सेवाभित्र विभिन्न नामका समूह वा अभियानहरु सञ्चालन गर्ने र त्यस्ता गतिविधिमा यस पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको सूचना तथा त्यसप्रकारका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग रास्वपाको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको र कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हामी आम कर्मचारी र सरोकारवालामा विज्ञप्तिमा अपिल गरिएको छ। ‘हामी विश्वास गछौँ कि कर्मचारीको एक मात्र धर्म ‘जनसेवा’ र एक मात्र पहिचान ‘व्यावसायिकता’ हो। कुनै पनि राजनीतिक दलको ओत लाग्ने वा शक्ति केन्द्रको नाममा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्ने कार्य हाम्रो आदर्श र नीतिको विपरीत छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी अहिले पनि निजामती सेवालाई ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा चलाउनुपर्ने र कर्मचारी केवल राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने पक्षमा दृढ छौँ। विगतमा जस्तै प्रशासनलाई थर्काउने, डर वा त्रास सिर्जना गर्ने वा दलीय आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने विषयमा आमसरोकारवालामा स्पष्ट पार्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी, पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनताको सेवामा समर्पित हुन हार्दिक अपिल गर्दछौँ।’












