काठमाडौं । अन्तरिक्ष प्रविधिको विश्वव्यापी दौडमा युरोपले आफ्नो उपस्थिति अझ बलियो बनाएको छ। सन् २०२६ मार्च २८ मा न्युजिल्यान्डको महिया प्रायद्वीपबाट रकेट ल्याबको इलेक्ट्रोन रोकेटले युरोपेली अन्तरिक्ष एजेन्सीको सेलेस्टे मिसनअन्तर्गत पहिलो दुईवटा स्याटलाइट सफलतापूर्वक पृथ्वीको तल्लो कक्षमा पुर्याएको छ।
५१० किलोमिटरको उचाइमा प्रक्षेपण गरिएका यी स्याटलाइटहरुले विश्वव्यापी नेभिगेसन प्रणालीमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। जसको प्रत्यक्ष प्रभाव नेपालजस्ता पहाडी मुलुकहरुमा समेत पर्ने देखिएको छ।
सेलेस्टे मिसन र प्राविधिक नवीनता
सेलेस्टे मिसनको मुख्य उद्देश्य हाल मध्यम पृथ्वी कक्षमा सञ्चालित गालिलियो र ईजीएनओएस प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउनु हो। ईएसएका नेभिगेसन निर्देशक फ्रान्सिस्को–जेभियर बेनेडिक्टो रुइजका अनुसार यो मिसनले युरोपेली नेभिगेशनलाई अझ बढी रेजिलिएन्ट र सुरक्षित बनाउनेछ।
यसअन्तर्गत प्रक्षेपण गरिएका ‘आईओडी–१’ र ‘आईओडी–२’ नामका दुई क्युब–स्याटहरुले अन्तरिक्षमा नयाँ नेभिगेसन सिग्नलहरुको परीक्षण गर्नेछन्। यो प्रदर्शन चरणमा जम्मा ११ वटा स्याटलाइटहरु हुनेछन्। तिनले पृथ्वीको नजिकबाट सिग्नल प्रसारण गरी नेभिगेशनको शुद्धतालाई सतप्रतिशत सुनिश्चित गर्ने लक्ष्य राखेका छन्। पृथ्वीको धरातलभन्दा नजिक हुने भएकाले यी स्याटलाइटबाट प्राप्त हुने सिग्नलहरु निकै बलियो हुने र ज्यामिङ वा अन्य अवरोधहरुबाट जोगिन सजिलो हुने प्राविधिक विशेषता रहेको छ।
नेपालको पहाडी भूगोल र सहरी क्षेत्रमा पर्ने प्रभाव
नेपालजस्तो जटिल पहाडी भूगोल भएको देशका लागि यो प्रविधि एउटा महत्वपूर्ण अवसर बन्न सक्छ। हाल प्रयोग भइरहेको जीपीएस प्रणाली कहिलेकाहीँ गहिरा खोँचहरु, घना जंगल वा काठमाडौंका ठूला भवनहरुबीच अलमलिने गर्छ। सेलेस्टेको ‘एलईओ’ लेयरले सिग्नललाई अझ बलियो बनाउने हुनाले पहाडी मोडहरुमा लोकेसनको शुद्धता मिटरमा नभएर सेन्टिमिटरमै सुधार हुने अपेक्षा गरिएको छ।
यसले गर्दा नेपालको हवाई उडान सुरक्षा, एम्बुलेन्स सेवा र ट्रेकिङ क्षेत्रमा प्रयोग हुने जीपीएस प्रणाली अझ भरपर्दो हुनेछ। साथै, विपद् व्यवस्थापनका क्रममा बाढी वा पहिरो प्रभावित क्षेत्रको सटीक लोकेसन पत्ता लगाउन र खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन यसले ठूलो मद्दत पुर्याउने देखिन्छ। विशेषगरी सहरी क्षेत्रमा भवनहरुका बीचमा हुने लोकेसन जम्प को समस्या यस प्रविधिबाट समाधान हुन सक्छ। –एजेन्सीको सहयोगमा












