काठमाडौं । प्रमुख राजमार्गहरूमा सवारी साधन गुडाउँदा भुक्तानी गर्नुपर्ने पटके सडक दस्तुर अब अनलाइन अर्थात् डिजिटल माध्यमबाट समेत भुक्तानी गर्न सकिने सुविधा ल्याइने भएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाको एकीकृत निर्देशिकामा संशोधन जारी गर्दै वाणिज्य बैंकलाई रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन चिपमा (आरइफआइडी) आधारित प्रिपेड ट्याग कार्ड जारी गर्न अनुमति दिएको हो। यो कार्ड अकाउण्टमा ग्राहकले जम्मा गरेको पैसाको आधारमा सडक दस्तुर स्वचालित प्रणालीले कट्टा गर्नेछ।
अहिले नागढुङ्गा नैकाप शुरूङ मार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला नेपाल राष्ट्र बैंकले यस्तो सुविधा लागू गर्न वाणिज्य बैंकलाइ निर्देशन दिएको हो । यो प्रविधिसँगै नेपालमा सडक दस्तुर संकलनको काममा प्रविधिको प्रयोग समावेश हुने भएको हो।
यो कार्ड सवारीसाधनमा जडान गरिनेछ। कुनै राजमार्गको ढाँट वा दस्तुर तिर्नुपर्ने नाकामा सवारी साधन रोक्नुपर्नेछैन। ढाँटमा जडान गरिएको स्क्यानरले सवारी साधनको अग्रभागमा टाँसिएको यस्तो कार्ड स्क्यान गरेर खाताबाट रकम कट्टा गर्नेछ।












