काठमाडौं । सरकारले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई सहुलियतमा १५ लाख रुपैयाँसम्म स्वरोजगार उद्यम कर्जा पाउने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ठूलो राहात मिल्ने मन्त्रालयको विश्वास छ।
यो सहुलियतपूर्ण कर्जा पाउन सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट जेनजी आन्दोलनका सहिद परिवार वा घाइते भएको प्रमाणित भएको हुनुपर्नेछ। सहिद परिवार भन्नाले सहिद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बुवा वा आमालाई जनाउँछ।
यी उद्यम तथा व्यवसायका लागि सहिद परिवार र घाइते पाउनेछन् सहुलियतमा कर्जा
- कृषि तथा पशुपन्छी व्यवसाय
- घरेलु तथा साना उद्योग
- सेवा व्यवसाय
- सूचना प्रविधिमा आधारित व्यवसाय
- पर्यटन व्यवसाय
- उत्पादनमूलक उद्योग
- स्टार्टअप उद्यम
- सरकारले समय–समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारमूलक व्यवसाय












