काठमाडौं । निजी क्षेत्रको शिक्षण संस्थामा छोराछोरी भर्ना गराएका अभिभावकले वार्षिक शैक्षिक खर्चको २५ प्रतिशतसम्म कर योग्य आयबाट घटाउन पाउने प्रस्ताव सरकारले गरेको छ।
सरकारले प्रतिनिधिसभामा गत जेठ १५ गते पेस गरेको आर्थिक विधेयकमा करयोग्य आयबाट आफ्ना छोराछोरीका लागि तिरेको वार्षिक शिक्षा खर्चको २५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, त्यो घटाउन पाउने प्रस्ताव गरिएको छ।
यो प्रस्ताव हुबहु पारित भएमा विद्यालय वा क्याम्पसमा आफ्नो छोराछोरी भर्ना गरेका अभिभावकले वार्षिक रुपमा भुक्तानी गरिरहेको शिक्षण शुल्कका आधारमा आयकर छुट दाबी गर्न पाउनेछन् । यो व्यवस्थाले बोर्डिङ स्कुल र निजी क्षेत्रको लगानी भएका क्याम्पसमा उच्च शिक्षाका लागि छोराछोरी भर्ना गराएका मध्यम वर्गीय अभिभावकलाई राहात मिल्नेछ।












