काठमाडौं । नेपालको शेयर बजारमा सफल स्टक ब्रोकर सञ्चालकका रुपमा चिनिन्छन्, राजकुमार तिमिल्सिना। उनी भिजन सेक्युरिटिजमा कार्यकारी अध्यक्ष हुन्।
तिमिल्सिना यसपालिको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चुनावी मैदानमा होमिएका छन्। एसोसिएट उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठको प्यानलबाट तिमिल्सिना महासंघको एसोसिएट सदस्यका उम्मेदवार बनेका छन्।
महासंघको आगामी ६० औँ वार्षिक साधारणसभा तथा अधिवेशनका लागि एसोसिएटतर्फबाट कार्यकारिणी मिति सदस्य पदमा उम्मेदवारी दिएका तिमिल्सिनासँग स्टक ब्रोकरसँगै विभिन्न क्षेत्रमा जिम्मेवार पदमा बसेर काम गरेको अनुभव रहेको छ। ‘समग्र निजी क्षेत्रका आवश्यक अजेन्डा पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ’, तिमिल्सिना भन्छन्।
हाल तिमिल्सिना भिजन पावर पार्टनर्सका अध्यक्ष, भेन्चर पावरका निर्देशक, क्यापिटल मार्केट कमिटी अफ द नेपाल चेम्बर अफ कमर्सका सदस्य र इमेन्ट कोर्टका अध्यक्ष छन्।
नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्षसमेत रहेका तिमिल्सिनासँग नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक र आरएमडीसी लघुवित्त वित्तीय संस्थामा सञ्चालकका रुपमा काम गरेको अनुभव रहेको छ।
आफ्नो प्यानलले उद्योगी–व्यवसायीको जायज माग सम्बोधन गर्ने तिमिल्सिनाको भनाइ छ। ‘समृद्ध अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहेको हुन्छ’, उनले भने, ‘त्यसैले यसपालि हाम्रो टिमलाई सहयोग गर्न म अपिल गर्छु।’
अर्थतन्त्रको संवाहकका रुपमा निजी क्षेत्रलाई चनाउन आफ्नो टिमले पहल गर्ने तिमिल्सिनाको भनाइ छ।
महासंघको साधारणसभा र एवं चुनाव यही चैत २९ र ३० का लागि निर्धारण गरिएको छ।












