काठमाडौं । काठमाडौं क्षेत्र नं. १ बाट तेस्रोपटक पनि निर्वाचन हारेपछि रविन्द्र मिश्रले दलीय राजनीति छाडेका छन्।
यसपालि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका मिश्र तेस्रो स्थानमा समेटिए। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजय भइन्। यही क्षेत्रमा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रले ६ हजार ३६४ मत ल्याउँदा मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे।
मिश्रले आज सामाजिक सञ्जालमा एउटा पोस्ट राख्दै आफूले दलीय राजनीतिबाट बिदा भएको लेखेका छन्। ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन’, उनले लेखेका छन्, ‘धेरै सोचि–विचारी लिँदैछु।’
देशभरि राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई संगठित र पुँजीकृत गर्न राप्रपा विविध कारणले बारम्बार विफल भएको उनको निष्कर्ष रहेको छ। ‘जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु’, उनले भनेका छन्।
विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा आफूले विश्वस्त रहेको उनले उल्लेख गरेका छन्।
यस परिप्रेक्ष्यमा मिश्रले निम्न दुई निर्णय लिएका छन्ः
१. आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु।
२. राजसंस्था पुनस्र्थापना तथा सुशासनलगायतका मुद्दामा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडान मुखरित गरिरहनेछु।
गत ९ वर्षको अभूतपूर्व रुपमा उतार–चढावपूर्ण आफ्नोे राजनीतिक यात्राका क्रममा आफूले विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रुपान्तरणका लागि प्रयास गरेको मिश्रको भनाइ छ। ‘त्यो प्रयास अझै पर्याप्त देखिएको छैन’, उनले भनेका छन्, ‘तर, देशभन्दा माथि स्वार्थलाई राखेर व्यक्तिले पाउने, देशले नपाउने कुनै पनि काम कुनै हालतमा गर्ने छैन।’
यी यावत वर्षहरुमा यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरुप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुने मिश्रले उल्लेख गरेका छन्। ‘निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाइ तथा शुभकामना दिन चाहन्छु’, उनले लेखेका छन्, ‘प्रचण्डपथमा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुंग्रोमा नजाओस्, त्यत्ति कामना गर्दछु।’












