काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को ८ महिना फागुनसम्म साढे ४ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको फागुनसम्म कुल ४ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म यी बैंकहरुले ४ अर्ब १८ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ९.६२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले ज्योति विकास बैंक अगाडि रहेको छ।
चालु वर्षको फागुनसम्म मुक्तिनाथ विकास बैंकले ९८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २४.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यहीअवधिसम्म मुक्तिनाथले ७८ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसैगरी धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा गरिमा रहेको छ। समीक्षा अवधिसम्म गरिमाले ९२ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म गरिमाले ८३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ११.१९ प्रतिशतले बढेको छ।
तेस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १५.१० प्रतिशतले बढेको छ।
यसैगरी चालु वर्षको फागुनसम्म कामना सेवा विकास बैंकले ५६ करोड २७ लाख रुपैयाँ, ज्योति विकास बैंकले ४६ करोड ३३ लाख रुपैयाँ, सांग्रिलाले ४१ करोड ७१ लाख रुपैयाँ, महालक्ष्मीले ३३ करोड ४० लाख रुपैयाँ र लुम्बिनीले २५ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कामना सेवा, ज्योति र सांग्रिलाको नाफा बढेको छ भने महालक्ष्मी र लुम्बिनीको घटेको छ।













