काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
मतदानस्थलको सुरक्षा व्यवस्थाको अवलोकन गरेर चुस्त दुरूस्त बनाउने जिम्मा नेपाली सेनाले लिएको छ। सेनाको कमाण्डमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएका छन्।
सेनाले मंगलबार दिनभर देशभरका मतदानस्थलको स्थलगत अवलोकन गरेर जानकारी लिने काम गरेको छ। मतपेटीका, मतपत्र र मतदान केन्द्रका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
मतदान केन्द्रको सुरक्षाका लागि आसपासका क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीले पहरा दिंदै पैदल मार्च गरिरहेको छ। यसबाहेक सवारी साधनबाट समेत सुरक्षाकर्मीले गस्ती गरेका छन् । चारपाङ्ग्रे सवारीसाधन नभएको ठाउँमा सेना र प्रहरीले मोटरसाइकलबाटै गस्ती गरिरहेको छ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा लुटिएका हतियारहरू निर्वाचन सुरक्षामा चुनौती हुने आंकलन सहित सुरक्षा अधिकारीहरूले आवश्यक सतर्कता अपनाउन मतदान केन्द्रका प्रमुखहरूलाइ निर्देशन दिएका छन् । यसबाहेक मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका ओसारपसार र मतदान केन्द्रमा मतपेटीका र मतपत्रको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
फागुन २१ गते बिहीबारका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएपनि राजश्व संकलन गर्ने र उम्मेदवारको बैंक खाता भएका बैंकहरूको शाखा भने खुल्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण वित्तीय सेवामा महालेखा नियन्त्रक कार्यालयमार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ। यो कामको लागि कार्यालयले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाध सेवा प्रवाहको व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ।
फागुन २१ गते मतदानका दिन वित्तीय एवं बैंकिङ सेवा सञ्चालन हुनेछैन। फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।












