काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरुमा क्षति पुर्याउनासाथ प्रधानमन्त्री शाहले उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन्। बाढीलगत्तै उनले उच्चस्तरीय बैठकहरु आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन्।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रुपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत, पुनस्र्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।












