काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अहिलेको संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न र नगराउन सार्वजनिक अपिल गरेको छ । प्रधानमन्त्री शाहले साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।’
उनले भने, हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्। १२० हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ।
उनले सुनसरीबाट शुरू भएको हिंसाका क्रममा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचारमा राज्यको तर्फबाट पुरा सकृयताका साथ ध्यान दिन निर्देशन दिएको उनले बताएका छन्।
घटनबारे अनुसन्धानका लागि छानबिन समिति गठन भएको भन्दै प्रधानमन्त्री शाहले घटनाका दोषी जोकोहीलाइ पनि उन्मुक्ति नदिइने प्रतिबद्धता जनाएका छन् ।
उनले आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहने प्रतिबद्धता जनाएका छन् । उनले नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिने र शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिने चेतावनी दिए।
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गरेको सम्बोधनको अन्त्यमा मैथिली भाषामा सम्बोधन गर्दै भने, ‘हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी।'(म नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सबै आदरणीय अगुवा, सबै राजनीतिक दल र जिम्मेवार सञ्चारक माध्यमहरूलाइ धैर्यता र संयमता अपनाएर शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्नका लागि सरकारको तर्फबाट हार्दिक अपिल गर्दछु ।)












