काठमाडौं । चर्को गर्मीको बीचमा फ्रान्सको राजधानी पेरिसका सार्वजनिक स्थानहरुमा मदिराको बिक्री र सेवनमा अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ।
अचाक्ली गर्मी बढेपछि पेरिसका अस्पतालहरुमा दबाब कम गर्न सार्वजनिक स्थानहरुमा मदिराको बिक्री र सेवनमा अस्थायी रुपमा प्रतिबन्ध लगाइएको हो। स्थानीय अधिकारीहरुको आदेशअनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म र फेरि शनिबार दिउँसो १२ बजेदेखि आइतबार बिहान ७ बजेसम्म मदिरा बिक्रीवितरणमा निषेध गरिएको छ।
यस अवधिमा शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान ७ बजेसम्म र शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ७ बजेसम्म टेकअवे मदिराको बिक्री पनि निषेध गरिएको छ। यद्यपि, इजाजतपत्र प्राप्त बार र रेस्टुरेन्टहरु यो प्रतिबन्धबाट मुक्त रहनेछन्।
फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले चर्को गर्मीका कारण अस्पतालहरुमा थप कर्मचारीहरु सुनिश्चित गर्न र कमजोर व्यक्तिहरुको सुरक्षा सुनिश्चित गर्न उच्चतम स्तरको स्वास्थ्य सतर्कता जारी गरिएको बताएका छन्।
यसैबीच धेरै दिनदेखि स्पेन, बेलायत र फ्रान्समा चल्दै आएको गर्मीको लहर अब पूर्वी युरोपतिर सर्दैछ। जर्मनी र चेक गणतन्त्रका मौसम अधिकारीहरुले अत्यधिक गर्मीको चेतावनी जारी गरेका छन्।
जर्मनीमा शुक्रबार तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। जब कि चेक गणतन्त्रको धेरैजसो भागमा अत्यधिक गर्मीको चेतावनी पनि जारी गरिएको छ। –एजेन्सी












