काठमाडौं । अमेरिका–इरानबीच सम्झौताको घोषणापछि एसियाली बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताअन्तर्गत महत्वपूर्ण समुद्रीमार्ग होर्मुज पुनः खोलिने बताएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो। विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य ३.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.०२ डलरमा र अमेरिकामा व्यापार हुने तेल ४.१ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.४० डलरमा कारोबार भइरहेको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले जुन १९ शुक्रबार स्विट्जरल्यान्डमा सम्झौतामा आधिकारिक रुपमा हस्ताक्षर हुने जानकारी दिएका छन्। त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस क्षेत्रमा तेलको निर्बाध प्रवाह पुनः सुरु हुनेछ।’
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा हवाई आक्रमण सुरु गरेको केही समयदेखि होर्मुज प्रभावकारी रुपमा बन्द गरिएको थियो। विश्वको लगभग २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति सामान्यतया यस समुद्रीमार्गबाट हुन्छ।
हालैका महिनाहरुमा विश्वव्यापी ऊर्जा बजारहरुले तीव्र उतारचढाव अनुभव गरेका छन्। युद्ध सुरु हुनुभन्दा पहिले ब्रेन्ट कच्चा तेलको मूल्यप्रति ब्यारेल लगभग ७० डलर थियो। तर, द्वन्द्वको समयमा यो मूल्य प्रतिब्यारेल लगभग १२० डलरसम्म पुगेको थियो। –एजेन्सी












