काठमाडौं । अब निर्जीवन बीमकले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख जारी गर्न पाउने भएका छन्। यस बीमालेखबाट वन्यजन्तु आक्रमणको जोखिममा रहेका परिवारलाई राहात हुने भएको छ।
विशेषगरी निकुञ्ज आसपास बसोबास गर्ने घरपरिवार वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन्। छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रबाट प्रवेश गर्ने वन्यजन्तुले विभिन्न क्षेत्रका नेपाली जनता प्रभावित हुँदै आएका छन्। अब जंगल जनावरको आक्रमण हुने दुर्घटना वा क्षतिमा यो बीमालेखले केही हदसम्म आर्थिक भार कम गर्नेछ।
नेपाल बीमा प्राधिकरण निर्जीवन बीमक (लघु बीमकसहित)ले जारी गर्न पाउने गरी यो बीमालेख तयार गरेको हो। बीमकले जारी गर्ने यो बीमालेख बीमक तथा बीमितबीच द्विपक्षीय कारर हुनेछ।
बीमकले बीमालेख मुद्रित वा विद्युतीय रुपमा जारी गर्न पाउनेछन्। बीमालेख जारी भएको मिति र समयबाट जोखिमको रक्षावरण प्रारम्भ भएको मानिनेछ। यो बीमालेख एकीकृत बीमालेख हुनेछ र बीमालेखको अवधि एक वर्षको हुनेछ।
यस बीमालेखले तोकिएका वन्यजन्तुका कारणबाट भएको क्षति रक्षावरण गर्नेछ। बीमाशुल्क १ हजार ५०० रुपैयाँ तोकिएको छ।
बीमालेखले रक्षावरण गर्ने विषय तथा बीमांक रकम
क. दुर्घटना खर्च (रु. १० लाखसम्म)
- व्यक्तिगत दुर्घटनामा मृत्यु (रु. १० लाख)
- पूर्णअशक्तता भएमा (रु. १० लाख)
- अस्थायी पूर्ण अशक्तता भएमा (रु. ५ लाख)
- औषधि उपचार खर्च
गम्भीर घाइते (अधिकतम रु. १ लाखसम्म)
सामान्य घाइते (अधिकतम रु. २० हजारसम्म)
ख. घर तथा भौतिक संरचना क्षति (रु. ५ लाखसम्म)
ग. पशुधन क्षति (रु. १ लाखसम्म)
घ. कृषि बाली क्षति (रु. ५० हजारसम्म)
यस बीमालेखअन्तर्गत दुर्घटना खर्च सुविधा बीमित परिवारका अधिकतम दुईजना सदस्यलाई प्रदान गरिनेछ। साथै, बीमितले दुर्घटना खर्च सुविधाको यस बीमालेखमा तोकिएको अवस्था सिर्जना भई उल्लेखित क्षतिपूर्ति रकम प्राप्त गरेको अवस्थामा बीमितको मृत्यु भएमा भुक्तानी गरिएको रकम कट्टा गरी दुर्घटना खर्चबापतको बाँकी रकम बीमकले भुक्तानी गर्नुपर्नेछ।
यस बीमालेखअन्तर्गत १८ वटा वन्यजुन्तको आक्रमणबाट भएको दुर्घटनामा दाबी भुक्तानी बीमकले दिनुपर्नेछ।
कुन–कुन वन्यजन्तु ?
हात्ती, गैंडा, बाघ, भालु, चितुवा प्रजाति, स्याल, मृग प्रजाति, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिंगर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसार।
यस्ता छन् बीमालेखका सामान्य सर्तहरु













