काठमाडौं । गत वर्ष ह्वाइट हाउस आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध रोक्न रुसको ऊर्जा निर्यातलाई लक्षित गर्न थाले। यसमा रुसमाथि कडा प्रतिबन्ध लगाउने र रुसी तेल खरिद गर्ने भारतजस्ता देशमा दण्डात्मक शुल्क लगाउने समावेश थियो। यद्यपि, ट्रम्पको प्रयासको बाबजुद रुस कमजोर भएको छैन।
वास्तवमा रुसले अब अमेरिकी प्रतिबन्धहरुवरिपरि बाटो फेला पारेको छ। रुसले अब भारतसँगको आफ्नो लेनदेनका लागि वित्तपोषण गर्न सुन प्रयोग गरिरहेको छ। रुसको आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार रुसले गत वर्षको पहिलो १० महिनामा भारतमा ५ करोड डलरभन्दा बढीको सुन निर्यात गरेको छ।
रुसी एजेन्सीले भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको तथ्यांक उद्धृत गर्दै भनेको छ, ‘अगस्ट २०२५ मा २.३४ करोड डलरको ढुवानीको साथ डेलिभरी पुनः सुरु भयो। जुन २०२१ पछिको सबैभन्दा ठूलो हो। अक्टोबरमा अर्को २.६९ करोड डलर सुन पठाइएको थियो।’
रुसी तेलमाथि भारतमाथि ट्यारिफ
अगस्टमा अमेरिकी राष्ट्रपतिले रुसी तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत ट्यारिफ लगाए। यसले भारतमाथिको कुल अमेरिकी ट्यारिफ ५० प्रतिशतमा ल्यायो।, जुन विश्वकै उच्चतम हो। यो ट्यारिफ अझै पनि लागू छ।
ट्रम्प प्रशासनले रुसी तेल खरिदले पुटिनलाई युक्रेनमा आफ्नो युद्ध जारी राख्न कोष प्रदान गर्ने दाबी गरेको छ। यद्यपि, भारतले अमेरिकी ट्यारिफ लगाइएपछि रुसी तेलको खरिद घटाएको छ।
रुसले विदेशी मुद्रा र सुन भण्डार बेच्दै
यस हप्ताको सुरुमा एक रुसी मिडिया रिपोर्टले रुसले आफ्नो राष्ट्रिय सम्पत्ति कोषबाट विदेशी मुद्राको बिक्रीलाई तीव्र बनाउने बताएको थियो। यसले आफ्नो सुन भण्डारबाट सुन फिर्ता लिने तयारी पनि गरिरहेको छ। अमेरिकी प्रतिबन्धहरुपछि तेल र ग्यास निर्यातबाट हुने आम्दानीमा आएको गिरावटका कारण यो निर्णय गरिएको हो।
मस्को टाइम्समा प्रकाशित समाचारका अनुसार रुसी अर्थ मन्त्रालयले जनवरी १६ देखि फेब्रुअरी ५ सम्म प्रत्येक दिन १६.५ करोड डलर मूल्यको चिनियाँ युआन र सुन बेच्ने योजना बनाएको छ। यो कुल बिक्री २.४८ अर्ब डलर हुनेछ। जुन कोभिड–१९ संकटको समयमा बेचेको सुनको मात्राभन्दा बढी हो।
सोही समाचारमा रुसले विगत ४ वर्षमा आफ्नो सुन भण्डारको लगभग ६० प्रतिशत बेचेको उल्लेख छ।












