काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म २३ अर्ब ६७ करोड रुपैयाँको व्यापार गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म १४ वटा निर्जीवन बीमकले १४ लाख १९ हजार ५४८ वटा बीमालेख जारी गरेर २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म कम्पनीहरुले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख जारी गरेर २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १३.३७ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको पुससम्म १३ वटा बीमकको व्यापार बढेको छ भने एउटा बीमकको घटेको छ। समीक्षा अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले हिमालयन एरभेष्ट इन्स्योरेन्स अगाडि रहेको छ।
चालु आर्थिक वर्षको पुससम्म शिखर इन्स्योरेन्सले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ७.१९ प्रतिशतले बढेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार २.३४ प्रतिशतले बढेको छ।
त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। चालु वर्षको पुससम्म यो कम्पनीले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४५.०७ प्रतिशतले बढेको छ।
यसैगरी चालु वर्षको पुससम्म सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म हिमालयन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.७३ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १९.०५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३३.५५ प्रतिशत र नेको इन्स्योरेन्सको ८.२७ प्रतिशतले व्यापार बढेको छ।
चालु आर्थिक वर्षको पुससम्म युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा युनाइटेड अजोडको २७.२९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ११.५७ प्रतिशत र सानिमा जीआईसीको १९.७१ प्रतिशतले व्यापार बढेको छ।
त्यस्तै समीक्षा अवधिसम्म नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म नेपाल इन्स्योरेन्सको ८.०५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.६९ प्रतिशत र नेसनल इन्स्योरेन्सको १२.४४ प्रतिशत व्यापार बढ्दा राष्ट्रिय बीमा कम्पनीको २०.३४ प्रतिशतले घटेको छ।













