काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा जीवन बीमकको तुलनामा निर्जीवन बीमक शाखा कार्यालय विस्तारसँगै जनशक्ति बढाउन आक्रामक ढंगले अगाडि बढिरहेको देखिन्छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ पहिलो ८ महिना फागुनसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार पछिल्लो एक वर्षमा निर्जीवन बीमकका ७ वटा शाखा कार्यालय थपिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को फागुनमा निर्जीवन बीमकका शाखा कार्यालयहरु १ हजार १४७ रहेकोमा चालु वर्षको त्यही अवधिसम्म बढेर १ हजार १५४ पुगेको हो।
जीवन बीमकका शाखा कार्यालयले भने १ हजार ८४५ रहेको छ। अघिल्लो वर्ष पनि जीवन बीमकका शाखा कार्यालय त्यति नै थियो।
चालु वर्षको फागुनसम्म जीवन र निर्जीवन बीमकका शाखा कार्यालय संख्या २ हजार ९९९ पुगेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.२३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष फागुनसम्म शाखा कार्यालय संख्या २ हजार ९९२ वटा रहेको थियो।
यसैगरी चालु वर्षको फागुनसम्म बीमकहरुको कुल जनशक्ति १२ हजार ३३६ पुगेको छ। यो संख्या अघिल्लो वर्ष फागुनसम्म ११ हजार ९०१ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कर्मचारी संख्या १.९९ प्रतिशतले बढेको छ।
चालु वर्षको फागुनसम्म जीवन बीमकमा ६ हजार ८३ र निर्जीवन बीमकमा ६ हजार २५३ जना कर्मचारी कार्यरत छन्। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकमा ६ हजार ७४ जना र निर्जीवन बीमकमा ६ हजार २१ कर्मचारी कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा जीवन बीमक र निर्जीवन बीमकमा कर्मचारी संख्या क्रमशः ०.१५ प्रतिशत र ३.८५ प्रतिशतले बढेको छ।












