काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को चैत महिनामा ४ अर्ब ८७ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको तेस्रो त्रैमास चैतसम्मको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार चैत महिनामा मात्र १४ वटा निर्जीवन बीमकले ३ लाख ४७ हजार ८७२ वटा बीमालेख जारी गरेर ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतमा कम्पनीहरुले २ लाख ९१ हजार ७७६ वटा बीमालेख जारी गरेर २ अर्ब ९१ करोड ७७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा महिनामा कम्पनीहरुको व्यापार १८.९८ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको चैतमा १० वटा बीमकको व्यापार बढेको छ भने ४ वटा बीमकको घटेको छ। चैतमा सर्वाधिक व्यापार भित्र्याने र वृद्धि दरका हिसाबले युनाइटेड अजोड इन्स्योरेन्स अगाडि रहेको छ।
चालु आर्थिक वर्षको चैतमा युनाइटे अजोड इन्स्योरेन्सले ६० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २५ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा चैतमा कम्पनीको व्यापार १३४.८१ प्रतिशतले बढेको छ।
यसैगरी चैत महिनामा दोस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। चैतमा यो कम्पनीले ५३ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष चैतमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार भने ७.०५ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको चैतमा तेस्रो धेरै व्यापार ल्याउनेमा ओरिएन्ट इन्स्योरेन्स रहेको छ। अघिल्लो वर्षको चैत कम्पनीले ४५ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा ७.११ प्रतिशतले बढेर ४८ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै चालु वर्षको चैतमा एनएलजी इन्स्योरेन्सले ४७ करोड ८० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४६ करोड ३९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४१ करोड ८६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४१ करोड ५८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३३ करोड ३६ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा एनएलजी इन्स्योरेन्सको व्यापार ७३.६० प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ११.८० प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६.६४ प्रतिशत, शिखर इन्स्योरेन्सको २५.२९ प्रतिशत र नेको इन्स्योरेन्सको २०.४६ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ६.५५ प्रतिशतले घटेको छ।
चैतमा सानिमा जीआईसी इन्स्योरेन्सले २९ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १७ करोड २५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड ३९ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ११ करोड २५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ८ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको व्यापार बढेको छ भने सानिमा जीआईसी इन्स्योरेन्स र नेसनल इन्स्योरेन्सको घटेको छ।













