काठमाडौं । खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ। एकातिर अधिक तरलता बढ्दो क्रममा रहनु र अर्कोतिर नयाँ कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुको वित्तीय स्वास्थ्यमा दबाब बढिरहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।८३ को (साउन–असार)सम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंक (स्ट्यान्डर्ड चार्टर्डबाहेक)मा ४८ अर्ब ८ करोड ७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको हो। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकहरुमा ४२ अर्ब ७७ करोड २७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा १२.४१ प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ६ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १३ वटाको बढेको छ। वाणिज्य बैंकहरुमध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढीले बढेको छ। ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन्।
गत आर्थिक वर्षको असारसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको देखिएको छ। यो बैंकमा ६ अर्ब ४८ करोड ९२ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकमा ५ अर्ब ६६ करोड ४७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति १४.५५ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकमा रहेको छ। समीक्षा अवधिसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ५ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकमा ५ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५९.५४ प्रतिशतले बढ्दा ग्लोबल आइएमई बैंकको ५.९७ प्रतिशतले घटेको छ।
सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा ३१ करोड ४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा बैंकमा गैरबैंकिङ सम्पत्ति २.९७ प्रतिशतले घटेको छ।
कुन बैंकमा कति गैरबैंकिङ सम्पत्ति ?













