IME Life New

वित्तीय स्वास्थ्य सुधार्न एनआईसी एसियालाई कठिनः दबाब, जोखिम र पुनरुत्थानको चुनौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था सुधारको बाटोमा अघि बढ्नुको साटो झन् जटिल मोडमा फस्दै गएको संकेत चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरणले दिएको छ। नाफा घट्नु, सञ्चालन मुनाफा खस्किनु, ब्याज आम्दानी संकुचित हुनु र गैरबैंकिङ सम्पत्ति निरन्तर बढिरहनुले बैंकको वित्तीय स्वास्थ्य तत्काल सहज हुने अवस्था नरहेको देखिएको हो।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार बैंकको नाफा १३.५४ प्रतिशतले घटेको छ। नाफा घट्नु आफैँमा चिन्ताको विषय भए पनि यससँगै सञ्चालन र कोर बैंकिङ सूचकहरु कमजोर हुनुले जोखिम अझ गहिरिएको विश्लेषकहरु बताउँछन्।

Esewa
Crest

बैंकको सञ्चालन मुनाफा चालु वर्षको पुससम्म १९ करोड ७७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ३४ करोड १९ लाख रुपैयाँ थियो। यसरी सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घट्नु बैंकको आन्तरिक कार्यक्षमता र आम्दानी संरचनामा समस्या देखिएको संकेत हो।

त्यस्तै, ब्याज आम्दानी पनि उल्लेख्य रुपमा घटेको छ। दोस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। जब कि अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी थियो। यो १५.८७ प्रतिशतको गिरावट हो। यसले कोर बैंकिङ व्यवसायमै दबाब बढ्दै गएको देखाउँछ।

बैंकका सीईओ सुजित शाक्यले पनि बैंकमाथिको दबाब थेग्न हम्मेहम्मे परिरहेको देखिन्छ। नयाँ सीईओ बनेका उनले एनआईसीको चुनौतीलाई कम गर्न नसक्ने देखिएको कर्मचारीहरुले बताउन थालेका छन्।

एनआईसी एसिया बैंकको वित्तीय स्वास्थ्य सुधारमा अर्को चुनौती गैरबैंकिङ सम्पत्ति नै बनेको छ। कर्जा तिर्न असफल भएका ऋणीबाट जफत गरिएका घर, जग्गा र भवनहरु समयमै नगदमा रुपान्तरण गर्न नसक्दा बैंकको नगद प्रवाहमा निरन्तर दबाब परिरहेको छ।

घरजग्गा बजार सुस्त रहनु, लिलामीमार्फत बिक्रीका प्रयास पटक–पटक असफल हुनु र समग्र अर्थतन्त्र चलायमान नहुनुले गैरबैंकिङ सम्पत्ति व्यवस्थापनलाई झनै जटिल बनाएको जानकारहरु बताउँछन्।

बैंकको वित्तीय संरचनामा अर्को गम्भीर संकेत वितरणयोग्य मुनाफा हो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यो २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक थियो।

यद्यपि, बैंकको रिजर्भ बढेर २२ अर्ब ६ करोड ८१ लाख रुपैयाँ पुगेको छ (अघिल्लो वर्ष १९ अर्ब ८१ करोड ६० लाख)। तर, रिटेन्ड अर्निङ ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहनुले बैंकको आन्तरिक पुँजी सिर्जनामा कमजोरी देखाउँछ। बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ।

यस अवधिसम्म बैंकले ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ३ खर्ब १९ अर्ब ५ करोड रुपैयाँ निक्षेप र २ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

यसैबीच बैंकको खराब कर्जा अनुपात बढेर १.५७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.४७ प्रतिशत थियो। यद्यपि यो अनुपात उच्च नभए पनि बढ्दो प्रवृत्तिले आगामी दिनमा जोखिम बढ्न सक्ने संकेत दिएको विश्लेषकहरु बताउँछन्।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर १.७७ रुपैयाँ कायम भएको छ। जब कि अघिल्लो वर्ष २.०४ रुपैयाँ थियो। पीई रेसियो १८८.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८.३३ रुपैयाँ रहेको छ। यी सूचकहरुले शेयर बजारमा पनि बैंकप्रतिको विश्वास कमजोर बन्दै गएको देखाउँछन्।

बैंकिङ विश्लेषकहरुका अनुसार एनआईसी एसिया बैंक अहिले संक्रमणकालीन वित्तीय दबाबमा छ। विगतको आक्रामक कर्जा विस्तार, कमजोर असुली, गैरबैंकिङ सम्पत्ति व्यवस्थापनको चुनौती र सुस्त अर्थतन्त्र एकैसाथ बैंकमाथि दबाब बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS