काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले नेपालको बैंकिङ क्षेत्रभित्रको वास्तविक अवस्था स्पष्ट देखाएको छ। समग्र रुपमा वाणिज्य बैंकहरुको नाफा बढेको देखिए पनि सबै बैंक समान रुपमा बलियो अवस्थामा छैनन्।
बैंकहरुको मुख्य व्यापारिक आम्दानी अर्थात् खुद ब्याज आम्दानीले अहिले कुन बैंक दबाबमा छन् र कुन बैंकले प्रतिकूल अवस्थाबीच पनि आफ्नो आधार जोगाइरहेका छन् भन्ने संकेत गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल १ खर्ब ४२ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिसम्म यस्तो आम्दानी १ खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ थियो। यस आधारमा बैंकहरुको खुद ब्याज आम्दानी २.०९ प्रतिशतले बढेको देखिन्छ।
खुद ब्याज आम्दानी भनेको बैंकले ऋणबाट उठाएको ब्याज र निक्षेपकर्तालाई तिरेको ब्याजबीचको अन्तर हो। यही आम्दानी बैंकहरुको प्रमुख सञ्चालन आधार मानिन्छ। विश्लेषकहरुले बैंकको दिगोपना, कर्जा परिचालन क्षमता र लागत व्यवस्थापन मूल्यांकन गर्दा खुद ब्याज आम्दानीलाई महत्वपूर्ण सूचकका रुपमा हेर्ने गर्छन्।
अहिले बैंकहरुको मुख्य चुनौती भनेकै कर्जा विस्तार हो। बजारमा लगानीको माग कमजोर छ। निजी क्षेत्र विस्तारमा आक्रामक छैन र उद्योग–व्यवसाय पूर्ण रुपमा चलायमान हुन सकेका छैनन्।
यस्तो अवस्थामा बैंकहरुले निक्षेपको लागत नियन्त्रण गर्दै गुणस्तरीय कर्जा विस्तार गर्न सके मात्रै खुद ब्याज आम्दानी टिकाउन सक्छन्। यही कारण अहिले बैंकहरुबीच ठूलो अन्तर देखिन थालेको छ।
खुद ब्याज आम्दानी सबैभन्दा धेरै गर्ने बैंक नबिल बैंक बनेको छ। बैंकले चैतसम्ममा १२ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यद्यपि यसको वृद्धिदर ३.३६ प्रतिशतमा सीमित छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्दा कुमारी बैंकले ९ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको छ।
वृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ। बैंकले आफ्नो खुद ब्याज आम्दानी २२.५८ प्रतिशतले बढाएर ८ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ। सानिमा बैंकले २०.४८ प्रतिशतले वृद्धि गर्दै ५ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेको छ भने कुमारी बैंक र एनएमबि बैंकले पनि दोहोरो अंकको वृद्धि हासिल गरेका छन्।
यी बैंकहरुको वृद्धिले प्रतिकूल आर्थिक अवस्थाबीच पनि केही बैंकले निक्षेप लागत व्यवस्थापन र कर्जा परिचालनमा तुलनात्मक रुपमा सन्तुलन कायम राख्न सकेको संकेत गर्छ। अहिलेको अवस्थामा ‘स्प्रेड’ जोगाइराख्नु नै बैंकहरुको मुख्य चुनौती बनेको छ।
अर्कोतर्फ केही बैंकको खुद ब्याज आम्दानीमा उल्लेखनीय गिरावट देखिएको छ। एनआईसी एसिया बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेर ६ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ। यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो गिरावट हो।
वित्तीय विवरणले बैंकको आम्दानी संरचनामा दबाब देखिएको संकेत गर्छ। उच्च ब्याज लागत, सुस्त कर्जा विस्तार र घट्दो ‘स्प्रेड’ जस्ता कारणले केही बैंकको मुख्य आम्दानी प्रभावित भएको देखिन्छ।
हिमालयन बैंकको खुद ब्याज आम्दानी ११.८७ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई बैंकको ३.५१ प्रतिशतले कमी आएको छ। ग्लोबल आइएमईले गत आवको चैतसम्ममा १२ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा यो घटेर ११ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ।
सबैभन्दा कम खुद ब्याज आम्दानी गर्ने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले ९ महिनासम्ममा २ अर्ब ९१ करोड रुपैयाँमात्र खुद ब्याज आम्दानी गरेको छ। नेपाल एसबीआई बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८६ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।
चालु आर्थि वर्षको चैतसम्ममा वाणिज्य बैंकहरुले कुल ४९ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा १९.३० प्रतिशतले बढेको हो। तर, खुद ब्याज आम्दानीको अवस्थाले बैंकिङ क्षेत्रभित्रको वास्तविक प्रतिस्पर्धा अब केवल नाफामा सीमित नरहेको देखाएको छ।
अब बैंकहरुको शक्ति कति ठूलो नाफा कमाए भन्नेभन्दा पनि त्यो नाफाको आधार कति टिकाउ छ भन्नेले निर्धारण गर्ने संकेत देखिएको छ। वित्तीय विवरणले आगामी दिनमा बैंकहरुबीच गुणस्तरीय कर्जा विस्तार, सस्तो निक्षेप व्यवस्थापन र स्थिर आम्दानी संरचना कायम राख्ने प्रतिस्पर्धा अझ तीव्र हुने संकेत गरेको छ।












