काठमाडौं । नेप्से परिसूचक आज अन्तिम समयमा १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा बन्द भएको थियो। तर, बजार बन्द भएको १ घन्टा नबित्दै नेप्सेको वेबसाइटमा नेप्से परिसूचक ८८५.३२ अंकले अर्थात ३३.३४ प्रतिशतले घटेर १७६९.६० को विन्दुमा बन्द भएको देखिएको छ।
सामान्यतय बजार खुलेको पहिलो घन्टा नेप्से ४ प्रतिशतले घट्दा वा बढ्दा कारोबार समय २० मिनेटका लागि बन्द गरिएको छ। फेरि खुलेको बजार ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः कारोबार ४० मिनेटका लागि स्थगित गरिन्छ। फेरि खुलेको बजार पुनः ६ प्रतिशतले घट्दा वा बढ्दा बाँकी समयको कारोबार स्थगित गरिन्छ।
त्यसैले नेप्सेको वेबसाइटमा आज देखिएको ३३.३४ प्रतिशतको गिरावट वास्तविक होइन। यो प्राविधिक समस्या आउँदा यस्तो देखिएको छ।
नेप्सेका एक अधिकारीले प्राविधिक समस्याका लागि नेप्सेको वेबसाइटमा डिस्प्ले भइरहेको नेप्सेको तथ्यांकमा त्रुटि देखिएको छ। ‘समस्या समाधान गर्न प्राविधिकहरुले काम गरिररहेका छन्’, ती अधिकारीले भने, ‘छिट्टै समस्या समाधान हुन्छ।’
प्राविधिक समस्या समाधान गर्न अहिले नेप्सेको वेबसाइट नै डाउन गरिएको छ।












