काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी)ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। नेपाल टेलिकमको ‘कम्बो–२९९ प्याक’ को समयावधि मंगलबार रातिदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको हो।
यो निर्णय मन्त्री तिमिल्सिना र नेपाल टेलिकमबीच भएको छलफलपछि तत्काल कार्यान्वयनमा आएको हो। ‘हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रुपान्तरण गरिएको छ’, नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले भनिन्, ‘आगामी वैशाख ११ गतेसम्म यो अवधिका सबै प्याकेजलाई ३० दिनमा रुपान्तरण गरिनेछ।’
यो व्यवस्थाबाट ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। यो व्यवस्था लागू भएसँगै अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्नेछ। यसले प्रयोगकर्तालाई सहज बनाउनेछ।
यसैगरी उही मूल्यमा २ दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन्। यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ।
नेपाल टेलिकमको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारका रुपमा लिइएको छ। यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ।












