काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको दुरुपयोग नगर्न सुझाव दिएको छ।
केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। व्यवसायको उन्नति र प्रवर्द्धनका लागि एउटा महत्वपूर्ण साधन व्यावसायिक कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो कर्जा व्यावसायिक प्रयोजनहरु जस्तै मेसिनहरु खरिद गर्न, स्तरोन्नति गर्न, अद्यावधिक गर्न, व्यवसाय विस्तार गर्न वा व्यापार–व्यवसायमा नयाँ अवसरहरु सिर्जना गर्नका लागि लिने गरिन्छ। ‘तर, पर्याप्त तयारी बिनै त्यस्तो कर्जा लिइयो भने त्यो बोझ बन्न सक्छ’, सूचनामा भनिएको छ।
व्यावसायिक कर्जा विलासिता प्रयोजनमा प्रयोग गर्नु कर्जाको दुरुपयोग गर्नु रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ। ‘कर्जालाई सही ठाउँमा लगानी गरौँ र आर्थिक अनुशासन कायम राख्दै आफ्नो र परिवारको वित्तीय छवि उज्यालो बनाऔँ’, राष्ट्र बैंकले भनेको छ, ‘बुद्धिमानी निर्णय लिई जिम्मेवार रुपमा कर्जाको उपयोग गरौँ।’












